संसद् भवन समयमा निर्माण सम्पन्न गर्न राष्ट्रिय सभा सदस्यहरूको सुझाव
काठमाडौँ । राष्ट्रिय सभा सदस्यहरूले सिंहदरबारभित्र बन्दै गरेको सङ्घीय संसद्को नयाँ भवन समयमा निर्माण सम्पन्न गर्न सुझाव दिएका छन् । राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आज बसेको बैठकमा उनीहरूले नयाँ संसद् भवन समयमा सम्पन्न गर्न सहरी विकास मन्त्रालयलाई आग्रह गरेका हुन् ।
भवन निर्माणको गति सुस्त भएको टिप्पणी गर्दै उनीहरूले द्रुत गतिमा निर्माण गर्न निर्देशन दिएका छन् । समितिका सदस्य सुमित्रा बिसीले झन्झटिलो निर्माण प्रक्रियाका कारण संसद्को नयाँ भवन निर्माण प्रक्रियाले गति लिन नसकेको बताए ।
अर्की सदस्य गोमादेवी तिमल्सेनाले समयमा नयाँ भवन निर्माण हुन नसक्दा भाडाको घरमा संसद् चलाउनु परेको बताए । उनले बढी श्रमिक प्रयोग गरेर भए पनि समयमा काम सक्न सहरी विकास मन्त्रालयलाई निर्देशन दिए । समितिकी सदस्य रुक्मिणी कोइरालाले पनि विगतमा भएका गल्ती कमजोरीलाई सच्चाएर अब जतिसक्दो छिटो नयाँ भवनको काम सक्न आग्रह गरे ।
यस्तै समितिका सदस्य गोपाल भट्टराईले नयाँ भवन निर्माणको प्रगति नभएकाले समयमा निर्माण सम्पन्न गर्ने विषयमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।
सङ्घीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)का संसदीय समितिहरू, संसदीय दलका कार्यालय रहने गरी भवन निर्माण भइरहेको छ । समितिले दिएको सुझावमा सहरी विकास मन्त्रालयले जतिसक्दो छिटो निर्माण सम्पन्न गर्ने जवाफ दिएको छ । सिंहदरबारको उत्तर पूर्वी भेगमा करिब एक सय ५१ रोपनी क्षेत्रफलमा नयाँ संसद् भवन निर्माण भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार यहाँ सङ्घीय संसद् भवन, राष्ट्रियसभा भवन, भिभिआइपी भवन र सेन्टर लभीलगायत १२ वटा भवन हुनेछन् । बफरजोन, उत्तरतिर फराकिलो सडकसहित दायाँबायाँ रुखहरू रोपिने र भवन परिसर प्रवेश गर्न चार वटा प्रवेशद्वार हुने बताइएको छ ।