‘विकासका नाममा विनाश बढ्दै गयो’ :सांसद

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले सडक सञ्जाल विस्तारका क्रममा जथाभावी डोजरले नभत्काउन सदन मार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सांसद ईश्वरी घर्तीले वैज्ञानिक तथा उन्नत खेतीको विकास गरी सङ्गठित कृषि बजारको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । बैठकमा ईश्वरबहादुर रिजाल, असिम शाह र अर्जुननरसिंह केसीलगायतले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । 

सांसद अच्युतप्रसाद मैनालीले बारा जिल्लाको तामागढी–सिम्रनगण सडक खण्ड सम्पन्न भएको चार वर्ष बितिसक्दा पनि जनताले मुआब्जा नपाएको हुँदा तत्काल मुआब्जा वितरण गर्न माग गर्नुभयो । 

बैठकमा  सांसद अनिषा नेपालीले पछिल्लो समयमा विकासको नाममा झन–झन विनास बढ्दै गएको जनाउँदै हिमाली र पहाडी जिल्लामा जथाभावी बाटो निर्माण गर्ने क्रममा महत्वपूर्ण स्थान भत्काउने काम तत्काल बन्द गर्न आग्रह गर्नुभयो ।  

सांसद अमनलाल मोदीले सरकारले ल्याएको स्वाथ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद जीवन परियारले कास्की जिल्लालगायतका जिल्लामा भारी वर्षाका कारण भएको बाढीपहिरो पीडितले राहत नपाएको बताउनुभयो । सांसद जुलीकुमारी महतो महासेठले एसइई परीक्षामा ५२ प्रतिशत अनुत्तीर्ण भएको विषयमा सरकार गम्भीर हुनुपर्छ भन्नुभयो ।

सांसद टेकबहादुर गुरुङले मनाङ र मुस्ताङलगायतका जिल्लामा विकास निर्माणका काममा ध्यान दिन सरकारलाई अनुरोध गर्नुभयो । सांसद अम्मरबहादुर थापाले गत साल जाजरकोटमा गएको भूकम्पबाट प्रभावित जनतालाई अहिलेसम्म पनि राहात र क्षतिपूर्ति नपाएको बताउनुभयो ।