तीन दिन नदीहरूमा बाढीको सतह बढ्ने पूर्वानुमान, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले आगामी ३ दिन नदीहरूमा बाढीको सतह उल्लेख्य रूपमा बढ्ने जनाएको छ । बाढीले क्षति पनि पुर्याउन सक्ने भएकाले उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
कोशी, नारायणी, कर्णाली र यसका सहायक नदीहरू तथा बागमती, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबईको जल सतह उल्लेख्य बढ्दो हुने महाशाखाको पूर्वानुमान छ । त्यसैले नदी तटीय क्षेत्रका क्रियाकलापमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
आज ताप्लेजुङ, सङ्खुवासभा, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, नवलपरासी पश्चिम, नवलपरासी पूर्व, पाल्पा, तनहुँ, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, दाङ, रोल्पा, बाँके, बर्दिया र आसपासका जिल्ला भई बहने अधिकांश नदीहरूमा बहाव बढ्ने महाशाखाले जनाएको छ । केही नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम पनि हुने छ ।
यसैगरी इलाम, तेह्रथुम, पाँचथर, भोजपुर, उदयपुर, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, चितवन, लमजुङ, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, प्युठान, सल्यान, दैलेख, कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा र आसपासका जिल्ला भई बहने नदीहरूमा पनि बहाव बढ्ने छ । केही नदीमा आकस्मिक बाढीको जोखिम हुने पूर्वानुमान छ ।