विभिन्न पाँच कम्पनीमार्फत ३० अर्ब बराबरको अवैध सुन तस्करी

काठमाडौँ ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपालमा विभिन्न ५ वटा डमी कम्पनी तयार पारेर करिब ३० अर्ब मूल्य बराबरको अवैध सुन चोरी पैठारी भएको तथ्य खुलेको बताएको छ । 

सोमबार पत्रकार सम्मेलन गर्दै सीआईबीले ६० किलो सुन प्रकरणको अनुसन्धानका क्रममा विभिन्न इलेकट्रोनिक माल वस्तु तथा ब्रेक शुमा गरेर ३ हजार १९४.६६८ केजी अवैध सुन चोरी भएको देखिएको जनाएको हो ।  विज्ञ टोलीको प्रतिवेदनबाट सो तथ्य खुलेको सीआईबीले सोमबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको छ । 

यसरी फेला परेको सुनको कूल मूल्य ३० अर्ब ८२ करोड २२ लाख ९१ हजार २ सय ७२ रुपैयाँ हुन आउने ब्युरोले जनाएको छ । 

ब्रेक शुका साथै साथै पानी तान्ने पम्प, स्मार्ट वाच, सेभिङ मेसिन लगायत सामानभित्र लुकाई छिपाई ल्याएको अवैध सुनको भुक्तानी प्रक्रिया र संलग्नहरूको पहिचान गरी कानूनी दायरामा ल्याउने सीआईबीले जनाएको छ ।

०८० साउन २ गते अवैध सुन ६० किलो ७१६ ग्राम बरामद भएपश्चात् राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरको प्रतिवेदन जाहेरीले वादी नेपाल सरकार प्रतिवादी हर्कराज राई समेत अवैध सुन भन्सार चोरी पैठारी तथा संगठित अपराधतर्फ अनुसन्धान सुरु गरिएको पनि सीआईबीले जनाएको छ ।