नासोँ गाउँपालिकाले पर्यटन तथा पर्वतारोहण विषय पढ्ने विद्यार्थीलाई अनुदान दिने

मनाङ । मनाङको नासोँ गाउँपालिकाले पर्यटन तथा पर्वतारोहण विषय लिएर अध्ययन गर्ने विद्यार्थीलाई अनुदान दिने भएको छ ।
गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले प्रकाशज्योति माध्यमिक विद्यालयमा कक्षा १२ मा पर्यटन तथा पर्वतारोहण विषय अध्यापन भइरहेको र त्यहाँका विद्यार्थीलाई अनुदानको व्यवस्थापन गरिएको बताए ।
उनका अनुसार प्रतिविद्यार्थी ५० हजार रुपैयाँ गाउँपालिकाले उपलब्ध गराउनेछ ।
गाउँपालिकाले यस विषयमा अध्ययन गरिरहेका विद्यार्थीलाई अवलोकन भ्रमण तथा स्थलगत अध्ययनका लागि ५० हजार रुपैयाँ अनुदान दिने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । यो विषय लिएर अध्ययन गर्ने विद्यार्थीलाई प्रोत्साहन गर्न गाउँपालिकाले अनुदानको व्यवस्था गरेको अध्यक्ष गुरुङले बताए ।
गाउँपालिकाले बाल बचतलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रभु बैंक नासों शाखाको सहकार्यमा कक्षा एकमा अध्ययनरत बालबालिकालाई प्रतिविद्यार्थी दुई हजार रुपैयाँका दरले खाता खोली बाल बचत कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
शैक्षिक सत्र ०८१ साउनबाट कक्षा तीनमा प्रकाशज्योति विद्यालयमा अङ्ग्रेजी माध्यमबाट अध्यापन गराइनेछ । गाउँपालिकाले शैक्षिक सत्र ०८० मा गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालयबाट एसइईमा ‘ए प्लस ग्रेड’ ल्याउने विद्यार्थीलाई प्रोत्साहन स्वरूप जनही २० हजार रुपैयाँ पुरस्कार वितरण गरिनेछ ।