गृह सचिव र प्रहरी महानिरीक्षकलाई बोलायो सहकारी संसदीय समितिले
काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय विशेष छानबिन समितिले गृह मन्त्रालयका सचिव र प्रहरी महानिरीक्षकलाई छलफलमा बोलाएको छ ।
समितिका सभापति सांसद सूर्य थापाले देशभर प्रहरी कार्यालयहरूले अनुसन्धान गरिरहेको सहकारीको रकम अपचलनसम्बन्धी मुद्दाबारे जानकारी लिन शुक्रबार गृह मन्त्रालयका सचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई बोलाएको जानकारी दिए ।
उनले भने, 'सीआईबीले हेरिरहेको सहकारीसँग सम्बन्धित मुद्दाहरूको बारेमा र देशभरि प्रहरीले ह्याण्डिल गरिरहेको मुद्दाहरूका बारेमा समग्रतामा गृह सचिव र प्रहरी महानिरीक्षकसहित छलफल गर्ने गरी भोलिका लागि बैठक राखेका छौँ ।'
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारीको रकम अपचलनमा मुछिएको भन्दै नेपाली कांग्रेसले लगातार संसद् अवरुद्ध गरेपछि सहकारीको बचत रकम अपचलनका विषयमा छानबिन गर्न संसदीय समिति गठन गरिएको थियो ।
समितिमा बिहीबार महालेखा परीक्षक तोयम राया, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक कमल भट्टराई र सहकारी विभागका रजिस्ट्रार पीताम्बर घिमिरेसँग छलफल गरेको थियो ।