एमालेका मन्त्रीहरूले दिए राजीनामा, रास्वपाका मन्त्रीहरूले आज राजीनामा दिँदै
काठमाडौँ । नेकपा एमालेले पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै एमालेको तर्फबाट सहभागी मन्त्रीहरूले बुधबार राजीनामा दिएका छन् ।
बुधबार बेलुका बालुवाटार पुगेर एमालेका आठ जना मन्त्रीले प्रधानमन्त्री दाहाललाई राजीनामा बुझाएका हुन् । नेपाली काँग्रेस र नेकपा एमालेको नयाँ गठबन्धन बनेपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनअनुसार एमाले मन्त्रीहरूले राजीनामा बुझाएका हुन् ।
.jpg)
सामूहिक रूपमा गएर राजीनामा बुझाएपछि प्रधानमन्त्री दाहालमाथि राजीनामाको दबाब परेको छ ।
एमालेबाट दाहाल नेतृत्वको सरकारमा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक भगबती चौधरी, रक्षा मन्त्री हरि उप्रेती, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी साह, खानेपानी मन्त्री राजेन्द्र राई र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी मन्त्री थिए । गत फागुन २१ गते काँग्रेससँगको गठबन्धन तोडेर दाहालले एमालेसँग सत्ता सहकार्य गरेका थिए ।
.jpg)
यसैबिच दाहाल सरकारमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले पनि आज राजीनामा बुझाउँदै छन् । आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारमा भेटेर उनीहरूले राजीनामा बुझाउन लागेका हुन् । सरकारमा सहभागी ४ जनै मन्त्रीले राजीनामा बुझाउन जान लागेको रास्वपाका एक सांसदले बताए ।
प्रचण्ड सरकारमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नेतृत्वमा ४ जना मन्त्री सहभागी छन् । रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री, यसैगरी उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन् ।