बसराइसराइले रित्तिए विद्यालय: २ विद्यार्थी पढाउन ३ शिक्षक
ढोरपाटन । बागलुङको जैमिनी नगरपालिका–८ छिस्ती, धुसस्थित ताराज्योति प्राथमिक विद्यालयमा पछिल्लो तीन वर्षमा विद्यार्थीको सङ्ख्या ह्वात्तै घटेको छ । हाल सो विद्यालयमा दुई जना छात्र मात्र अध्ययनरत छन् । एक जना कक्षा एक र एक जना कक्षा तीनमा अध्ययन गर्छन् । कक्षा दुईमा विद्यार्थी नै छैनन् ।
स्थानीयवासी सुविधाको खोजीमा अन्यत्र बसाइँ सरेपछि विद्यालयमा विद्यार्थी आउन छाडेको प्रधानाध्यापक गोविन्द अधिकारीले जानकारी दिए । गत शैक्षिक सत्रमा तीन जना थिए। २०७८ सालमा ११ जना विद्यार्थी थिए । २०७९ मा त्यो सङ्ख्या १० जनामा झर्यो ।
विद्यालय २०४६ सालमा स्थापना भएको हो । प्रअ अधिकारीका अनुसार विद्यालयमा एक जना स्थायी दरबन्दीको शिक्षक, एक अस्थायी र एक जना कार्यालय सहयोगी कार्यरत छन् । बर्सेनि विद्यार्थीको सङ्ख्या घट्दै गएपछि विद्यालयको अस्तित्व नै धरापमा परेको छ । ३५ वर्ष अगाडि स्थापित विद्यालयमा दशक अगाडिसम्म विद्यार्थीको चाप हुँदा भुईँमै बसेर पढ्नुपर्ने बाध्यता थियो । तर अहिले भौतिक रूपमा सम्पन्न हुँदा विद्यार्थीको सङ्ख्या निकै कम भएका छन् ।
धुसगाउँ भौगोलिक हिसाबले अलि विकटमा हुँदा धेरैले आफ्ना बालबालिका सुविधायुक्त विद्यालयमा पठाउँदा विद्यार्थी कम भएको प्रअ अधिकारीले बताए । 'विद्यार्थी कम हुँदा नैराश्य छाएको छ । पछिल्लो समय गाउँमा बालबालिका पनि कम छन् । भएका पनि शहर जाने प्रचलन बढेको छ', उनले भने, 'जागिर खान यहाँ आइयो विद्यार्थी धेरै नहुँदा सिक्न र सिकाउन पाइएको छैन, दिन बिताउन साह्रै गाह्रो हुन्छ ।'
खासगरी यस गाउँका स्थानीय बसाइसराइ गरी चितवन, रुपन्देही गएका छन् । जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले विद्यालयको भौतिक संरचनादेखि अन्य व्यवस्थापन गरेको तर धेरै विद्यालयमा विद्यार्थी सङ्ख्या कम हुँदै गएको बताए । नगरपालिकाले कम विद्यार्थी भएको विद्यालयलाई समायोजन गर्ने नीति लिएको छ । 'नगर शिक्षा ऐन बनाएर दरबन्दी मिलान अगाडि बढाएको, विद्यालय समायोजनसम्बन्धी कार्यविधि बनाएर काम अगाडि बढेको छ । विद्यालय समायोजनपछि नगरपालिकाले सञ्चालन गरेको ‘लिड’ विद्यालयमा टाढाका विद्यार्थीलाई आवासीय सुविधा प्राप्त हुनेछ', उनले भने ।
जैमिनी नगरपालिकाका शिक्षा शाखा प्रमुख खेमप्रसाद आचार्यले ताराज्योति प्राथमिक विद्यालयलाई छिट्टै समायोजन गर्ने जानकारी दिए । अहिले नगरपालिकाले कुन विद्यालय समायोजन गर्ने, कुन तह मिलान गर्ने भन्ने विषयमा अध्ययन गरिसकेको उनले बताए ।