सौर्यको विमान दुर्घटनाबाट यात्रुहरूको मृत्यु भएकोप्रति संसदीय समितिद्वारा शोक प्रस्ताव पारित
काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएकोप्रति शोक प्रस्ताव पारित गरेको छ ।
बुधबार बसेको समितिको बैठकले त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा यात्रुहरूको निधन भएको भन्दै शोक प्रस्ताव पारित गरेको हो । बैठकले मृतकको परिवारप्रति समवेदना व्यक्त गरेको छ ।
त्यस्तै उद्धार गरिएको जहाजका पाइलट लगायतका घाइतेहरूको शीघ्र उपचार गर्न पनि ध्यानाकर्षण गराइएको छ । बैठकले घाइतेको सु–स्वास्थ्यको कामना समेत गरेको छ । 'आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा जनधनको क्षति भएकोमा समिति शोक व्यक्त गर्दछ', बैठकको निर्णयबारे जानकारी दिँदै समिति सभापति रामहरि खतिवडाले भने, 'मृतक परिवारमा समवेदना प्रकट गर्दछ। पाइलट लगायत उक्त घटनामा घाइते हुनेहरूको शीघ्र उपचार होस् र सु–स्वास्थ्यको कामना कामना गर्दछ ।'
बैठकमा बोल्दै सांसदहरूले जहाज दुर्घटनामा जनधनको क्षति भएको भन्दै दुःख व्यक्त गरेका थिए । उद्धार र घाइतेहरूको उपचारको व्यक्त शीघ्र गर्न पनि सरकारको ध्यानाकर्षण गराएका थिए ।