सौर्य एअर दुर्घटनाको विस्तृतमा छानबिन गर्छौँ : गृहमन्त्री लेखक
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे छानबिन गर्ने बताएका छन् ।
घटनास्थल निरीक्षणमा पुगेका गृहमन्त्री लेखकले दुःखद घटना घटेको र यसको छानबिन गर्ने बताएका हुन् ।
बुधबार ११:११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको जहाज केही बेरमै दुर्घटनामा परेको थियो । जहाजमा रहेका क्याप्टेन मनीष शाक्य मात्रै जीवित छन् भने १८ जनाको मृत्यु भएको छ ।
गृहमन्त्री लेखकले भने, 'दुःखद घटना घट्यो, जहाज दुर्घटनाबारे छानबिन गर्छौँ । विस्तृतमा छानबिन गर्छौँ ।'
जहाज दुर्घटनापछि अग्नि नियन्त्रकहरू, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलगायत उद्धारमा खटिएका थिए । क्याप्टेन शाक्यलाई उद्धार गरेर उपचार गर्न अस्पताल पुर्याइएको थियो ।
उनी बोल्न सक्ने र खतरामुक्त अवस्थामा रहेको चिकित्सकहरूलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । सौर्यको ९ एन-एएमई/सिआरजे २०० कलसाइनको जहाज बुधबार बिहान दुर्घटनामा परेको थियो ।