पहिलो मुख्यसचिव महिला बनिन् लिलादेवी गड्ताैला

काठमाडौँ । मुख्यसचिवमा लीलादेवी गड्तौला नियुक्त भएकी छिन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हाल कामु मुख्यसचिव रहेकी गड्तौलालाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको कृषिमन्त्री रामनाथ अधिकारीले जानकारी दिए  । 

तत्कालीन मुख्यसचिव वैकुण्ठ अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि सबैभन्दा वरिष्ठ सचिव रहेकी गड्तौलालाई कामु मुख्यसचिव बनाइएको थियो ।  गड्तौला कर्मचारी प्रशासनको सबैभन्दा उच्च तह मुख्यसचिवमा पुग्ने पहिलो महिला बनेकी छन् ।

२०७७ कात्तिक २७  मा सचिवमा बढुवा भएकी उनी उमेर हदका कारण आगामी भदौमा सेवानिवृत्त हुनेछिन् ।

यसैबिच प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारको मुख्यचिवमा पहिलो महिलाका रूपमा लीलादेवी गड्तौला नियुक्त भएकामा बधाई व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत ‘देशभरको कर्मचारी प्रशासनको नेतृत्व गर्नेमा पहिलो पटक महिला भएकामा बधाई दिएका हुन् ।

प्रधानमन्त्री ओलीकाे अध्यक्षतामा आज बसेकाे मन्त्रिपरिषद्को बैठकले कायममुकायम निमित्त मुख्यसचिव गड्तौलालाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो ।