कारागार र बालसुधार गृहको सुधारमा तीनै तहका सरकारको समन्वय आवश्यक छ: गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कारागार र बालसुधार गृहको सुधारमा तीनै तहका सरकारको समन्वय गरेर अगाडी बढ्नुपर्नेमा जोड दिएका छन् ।
आइतबार संघीय संसद्को कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । 'अत्यधिक सङ्ख्यामा कैदी बन्दी रहेको समस्या देशभरिकै छ । भौतिक संरचनाको राम्रो विषय उठाउनु भएको छ', मन्त्री लेखकले भने– 'भौतिक संरचनामा सुधार गर्न आवश्यक छ ।'
उनले बाल सुधार गृहमा पनि ठाउँको अभाव रहेको र भौतिक संरचनाको अभाव देखिएको बताए । उनले भने, 'हामीसित ८ वटा जिल्लामा ९ वटा बालसुधार गृह छन् । यसको सुधार गर्न सबैलाई सरकारले राम्रोसँग सञ्चालन गर्नुपर्ने देखिएको छ ।'
कैदी बन्दीको खाना र दैनिक खर्च कम भएको विषयमा सरकारको ध्यान गम्भीरतापूर्वक जाने गृहमन्त्री लेखकले बताए । कैदी बन्दीले भोग्नुपरेको स्वास्थ्य र सरसफाइका समस्या सम्बोधन गर्ने सरकारले ध्यान दिने उहाँको भनाई थियो ।
'कैदी बन्दीको सीप विकास र आय आर्जनको कुरामा पनि सरकार गम्भीर छ', गृहमन्त्री लेखक भने– 'कारागारलाई सीप विकास केन्द्रका रूपमा विकास जरुरी छ ।' केही न केही उद्यम गरेर आय आर्जन पनि हुने र मानिस व्यस्त हुने अवस्था रहेको उनको भनाई थियो ।
बैठकमा गृहमन्त्री लेखकले संसदीय समितिप्रति सरकार जवाफदेही र जिम्मेवार हुने प्रतिबद्धता व्यक्त गरे । 'प्रतिवेदनमाथि छलफल गरेर समितिबाट निर्देशन पाऔँ । सरकार सदनप्रति जबाफदेही हुन्छ र जिम्मेवार हुन्छ', उनले भने– 'समितिको निर्देशन हामी गम्भीरतापूर्वक लिन्छौँ र कार्यान्वयन पनि जति सक्छौँ ।' आर्थिक अभावका बिचमा पनि सरकारले यथेष्ट ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
समिति बैठकमा गृह सचिव एकनारायण अर्यालले ७२ वटा कारागार मध्ये अहिले दश वटा स्तरोन्नति भइरहेको बताए । 'कैदी बन्दीको क्षमता विकास र पुस्तकालयको काम गरिराखेका छौँ । कैदी बन्दीले कारागारमा बसुन्जेलसम्म सीप सिक्छ', उनले भने– 'त्यहाँबाट आइसकेपछि सोही अनुसार काम पनि पाउने अवस्था बन्छ ।'
उनले कैदी बन्दीको स्वास्थ्य बीमा गर्ने काम अगाडि बढेको जानकारी दिए ।
कार्यक्रममा कानून, न्याय तथा मानव अधिकार समितिले मुलुकभरका बाल सुधार गृह र कारागारको अनुगमनका लागि बनाएका तीन वटा उपसमितिले प्रतिवेदन समेत बुझाएका छन् । प्रतिवेदनमा बाल सुधार गृह, कारागारको समग्र अवस्था, देखिएको चुनौती एवं गर्नुपर्ने काम र सुधारको विषयसहितमा उल्लेख छ ।