एमाले सचिवालय बैठक सुरु, स्वास्थ्यले साथ दिएसम्म बालुवाटारमा पार्टीको बैठक नबस्ने ओलीको घोषणा

काठमाडौँ । नेकपा (एमाले)को सचिवालय बैठक बिहीबार मध्यान्ह काठमाडौँमा सुरु भएको छ । 

हनुमानथानस्थित बसेर होटलमा केही बेरअघि बैठक सुरु भएको प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको छ । एमाले पार्टी कार्यालय च्यासलको भुईँ तलामा मंगलबार राति मनोहरा खोलामा आएको बाढी पसेपछि बैठक होटलमा राखिएको हो ।

सचिवालय बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीको आन्तरिक रणनीति र नेताहरूको कार्य विभाजनको विषयमा छलफल हुँदै छ ।  


यसैबीच एमाले अध्यक्षसमेत रहेका ओलीले स्वास्थ्यले साथ दिएसम्म पार्टी बैठक सरकारी निवास बालुवाटारमा नराख्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले यस्तो जानकारी गराएका हुन् । उनले लेखेका छन्, 'सामाजिक सञ्जालमार्फत तपाईँहरूले दिनुभएको सुझावअनुसार मेरो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराउँछु ।'