काठमाडौँ-तराई द्रुतमार्गको धेद्रे सुरुङ मार्गको दुवैतर्फ ‘ब्रेक थ्रु’
मकवानपुर । काठमाडौं–तराई-मधेस द्रुतमार्ग (फास्ट ट्य्राक) अन्तर्गतको धेद्रे सुरुङ मार्गको दुवैतर्फ ‘ब्रेक थ्रु’ भएको छ । धेद्रे सुरुङको निजगढबाट काठमाडौँतर्फ आउने खण्डको गत जेठमा ‘ब्रेक थ्रु’ भएको थियो । जसको दूरी १.६५ किमी छ । यही सुरुङको काठमाडौँबाट निजगढतर्फ निस्कने १.७२८ किमी दूरीको सुरुङ खनिएसँगै यसको ‘ब्रेक थ्रु’ भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार विस्फोटक पदार्थको स्विच थिचेर ‘ब्रेक थ्रु’ गरेका हुन् । महादेवटारमा काठमाडौं छिर्ने र काठमाडौँबाट निजगढ जाने २ वटा सुरुङ खनिँदै छ । काठमाडौँबाट निजगढतर्फ आउने सुरुङ ३,३८६ मिटरमध्ये २,२८८ मिटर खनिसकिएको छ । त्यस्तै निजगढबाट काठमाडौँतर्फ आउने सुरुङको ३,३२२ मिटरमध्ये २ हजार २९ मिटर खनिसकिएको छ ।
फास्ट ट्र्याकको कुल दूरी ७०.९७७ किमी हो, जसमध्ये ६४.४७ किमीको मात्र ठेक्का भएको छ । खोकना खण्डको ६.५ किमी खण्डमा ठेक्का हुन सकेको छैन । सेनाका अनुसार कुल सडकमध्ये १०.३० किमी सुरुङ र १२.८८ किमी पुलको दूरी पर्छ । सैनिक प्रवक्ता एवं सहायक रथी गौरवकुमार केसीका अनुसार ६ सुरुङमध्ये ३ वटाको ठेक्का भएर काम भइरहेको छ ।
पछि थप भएका ३ सुरुङ डिजाइनका क्रममा छन् । निजगढबाट काठमाडौँतर्फ ३.३२ किमी रहेको महादेवटार सुरुङ २.०२९ किमी खनिसकिएको छ । काठमाडौँबाट निजगढतर्फ निस्किने सुरुङ ३.३८६ किमिमध्ये २.२८८ किमी खनिसकिएको छ । यो सुरुङ खन्ने काम चालु आर्थिक वर्षभित्र सकिने दाबी सेनाको छ । निजगढबाट काठमाडौँतर्फ जाने १.६१२ किमीको लेनडाँडा सुरुङको गत असार २० मा ‘ब्रेक थ्रु’ भइसकेको छ । काठमाडौँबाट निजगढतर्फ निस्कने १.६३३ किमी सुरुङको पनि गत जेठ ४ मा ‘ब्रेक थ्रु’ भइसकेको छ । निर्माणाधीन ३ वटा सुरुङ खन्ने काम समग्रमा ८२.८९ प्रतिशत सकिसकेको सेनाले जनायो ।
त्यस्तै ८९ पुलमध्ये ८५ वटाको ठेक्का व्यवस्थापन भएर काम भइरहेको छ । बाँकी ४ वटा पुल खोकना खण्डमा पर्ने भएकाले ठेक्का हुन सकेको छैन । अहिलेसम्म ठेक्का भएकामध्ये ५ वटा पुलको निर्माण सकिसकेको छ । ०७४ वैशाख २१ मा मन्त्रिपरिषद् निर्णयबाट यसको निर्माण व्यवस्थापनको जिम्मेवारी सेनालाई दिइएको हो । अहिलेसम्म भौतिक प्रगति ३५.३८ प्रतिशत छ ।