आदिवासी आन्दोलन सफल पार्न आदिवासी समुदायबिच सहकार्य आवश्यक

काठमाडौँ । आदिवासी आन्दोलनलाई मुलप्रवाहमा ल्याउनका लागि आदिवासी समुदायबिच सहकार्य हुन आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । ३० औँ विश्व आदिवासी दिवसको सन्दर्भमा नेपाल छन्त्याल संघले आज काठमाडौँमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले त्यस्तो बताएका हुन् । उनीहरूले आदिवासी जनजाति आन्दोलन सफल पार्न राजनीतिक आन्दोलन हुनुपर्ने बताए ।
नेपाल छन्त्याल संघका अध्यक्ष मनमोहन बुढाथोकी छन्त्यालको अध्यक्षता तथा आदिवासी जनजाति आयोगका सदस्य सुर्यबहादुर गुरुङको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रमको उद्घाटन गर्दै आयोगका सदस्य गुरुङले आदिवासी आन्दोलनका लागि नेपाल आदिवासी जनजाति महासंघको क्रियाशीलता अपेक्षित भएको बताए । उनले भने, 'आदिवासी जनजाति आयोगलाई संविधानले अन्य आयोगलाई जसरी पूर्ण अधिकार दिएको छैन । जनजाति महासंघलगायत जातीय संघसंस्थाले सवाल उठाएमा मात्र आयोगले सरकारलाई यसका सम्बन्धमा सिफारिस गर्न सक्छ ।'

त्यस अवसरमा कार्यपत्र प्रस्तुत गर्दै नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव डा. बालकृष्ण मावोहाङले आदिवासी जनजाति आन्दोलन अगाडि बढाउन आदिवासी नेताको अभाव भएको बताए । 'आदिवासी जनजातिले नेता जन्माउन नै सकेनन्, जति नेता जन्मिए, सबै पार्टीका झोले भए', कार्यपत्र  प्रस्तुत गर्दै डा. मावोहाङले भने', 'देशमा आदिवासी नेता नै छैनन्, गएको ३० वर्षमा भएका आन्दोलनमा आदिवासी अधिकार प्राप्तिका लागि नभई ठुला राजनीतिक दलका पार्टीका नेता जन्माउँदै हिँड्नाले आदिवासी अधिकारका विषय ओझेलमा परेको हो ।'
आदिवासी जनजातिहरूले आफ्नो थाकथलो छाडेपछि अधिकार पनि छाडिने विचार राख्दै उनले थाकथलो नछाड्न र त्यहीबाट अधिकारको दाबी गर्न पनि आह्वान गरे ।
कार्यक्रममा बोल्दै नेपाल आदिवासी जनजाति महासंघका वरिष्ठ उपाध्यक्ष बुद्ध घर्ती भुजेलले आदिवासी जनजातिको आन्दोलनलाई सफल पार्नका लागि विशुद्ध राजनीतिक आन्दोलन हुनुपर्ने बताए । उनले हालसम्म राजनीतिक परिवर्तनका लागि मात्र आन्दोलन भएको  भन्दै अबको बाटो आदिवासीको अधिकार प्राप्तिका लागि गर्नुपर्ने धारणा राखे । 
महासंघका पूर्व उपाध्यक्ष तथा आदिवासी जनजाति अधिकारकर्मी गोविन्द छन्त्यालले राज्यसत्ताले आदिवासी भूमि, भूभाग, पहिचानलाई मेटाउँदै लगेको आरोप लगाए । 'आदिवासी आन्दोलनमा छन्त्याल जातिको भूमिका' विषयक कार्यपत्र प्रस्तुत गर्दै उनले आदिवासी आन्दोलनका सम्बन्धमा समुदायभित्र गम्भीर छलफल हुन आवश्यक रहेको कुरामा जोड दिए । 
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका निवर्तमान अध्यक्ष जगत बराम लगायतले धारणा राखेका थिए ।