एअर डाइनेष्टी हेलिकप्टर दुर्घटना: ज्यान गुमाउने पाँचै जनाको पोष्टमर्टम सुरु
काठमाडौँ । बुधबार भएको एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पाँचै जनाको पोष्टमर्टम सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा बिहीबार बिहानदेखि पोष्टमर्टमको प्रक्रिया सुरु भएको हो ।
अस्पतालको फरेन्सिक मेडिसिन विभागका फरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरीसहित ८ जना फरेन्सिक डाक्टरहरू, चार जना दन्त चिकित्सक र अन्य सहयोगीहरूले पोष्टमर्टमको काम सुरु गरेका छन् । नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाबाट पनि प्रहरी अधिकारीहरू खटिएका छन् ।
डिएनए र फिंगरप्रिन्टको लागि प्रहरीको टोली खटिएको हो । डा.चौधरीले भने, 'पोष्टमर्टमको काम सुरु भइसकेको छ। अहिले तथ्यांक संकलन गर्ने काम भइरहेको छ ।'
चिकित्सकको टोलीले बिहीबार दिनभरिमा पोष्टमर्टम गर्न सकाउने तयारी गरेका छन् । यद्यपि आफन्तलाई शव बुझाउन भने समय लाग्न सक्ने डा. चौधरी बताउँछन् ।
चिकित्सकहरूले चिनियाँ कन्सुलरमार्फत आफन्तहरूसँग सम्पर्क गर्ने प्रयास गरेका छन् ।
डा. चौधरीका अनुसार कन्सुलरलाई मृतकका विवरणहरू भर्न फाराम दिइएको छ । कन्सुलरमार्फत आफन्तले विवरणहरू भरेसँगै मृतकको पहिचान खुलाउनमा मद्दत हुने उनले बताए ।
चिनियाँ नागरिकका आफन्त नेपाल आएर यहीँ दाहसंस्कार गर्ने वा चीन लगेर दाहसंस्कार गर्ने भन्नेबारे पनि कन्सुलरमार्फत आफन्तसँग कुराकानी गरेर निर्णय गरिने उनले बताए ।
एयर डाइनेष्टीका क्याप्टेनको पनि शव जलेका कारण पहिचानबारे अहिले नै बताउन नसक्ने डा. चौधरीको भनाइ छ । उनकाअनुसार पोष्टमर्टम सकिएपछि मात्रै पहिचानको प्रक्रिया अघि बढ्नेछ ।
चार जना चिनियाँ नागरिकहरू टाङ जुटाओ, वु यियाओ, ली जेई र सेइ जिमिङलाई लिएर एयर डाइनेष्टीका क्याप्टेन अरूण मल्लले हेलिकप्टर उडान भरेका थिए । रसुवाको स्याफ्रुबेसी जान बुधबार दिउँसो १:४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको हेलिकप्टर तीन मिनेटमै एयर टावरसँग सम्पर्कबिच्छेद भएको थियो ।
हेलिकप्टर दिउँसो २:२० बजेतिर नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्यचौरमा दुर्घटना भएको थियो । त्यहाँ गोठाला गएकाहरूले दुर्घटनाबारे प्रहरीलाई जानकारी दिएका थिए ।
दुर्घटनामा पाइलटसहित पाँचै जनाको घटनास्थलमै मृत्यु भएको थियो । पाँचै जनाको शव बुधबार नै काठमाडौँस्थित शिक्षण अस्पतालमा ल्याइएको थियो ।
सरकारले दुर्घटना भएपछि नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । उक्त आयोगमा विष्णु बस्नेत र तनुजा पोखरेल सदस्य छन् ।
उक्त समितिलाई ३० दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।