टीआरसी विधेयकमा सहमति ऐतिहासिक उपलब्धि हो : सभापति देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सङ्क्रमणकालीन न्याय निरूपण सम्बन्धी विधेयकमा भएको सहमति ऐतिहासिक उपलब्धि भएको बताएका छन् ।
प्रतिनिधि सभाको आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकमाथिको छलफलका क्रममा सभापति देउवाले सङ्क्रमणकालीन न्यायका सन्दर्भमा राजनीतिक शक्ति र सरोकारवाला पक्षहरू सर्वसम्मतिका साथ उपस्थित हुनु आफैँमा एउटा ऐतिहासिक उपलब्धिको घडी भएको बताए ।
उनले शान्ति प्रक्रियाका बाँकी कार्यभारहरू पूरा गर्न गर्नका लागि भएको सहमतिले जटिल कामलाई नेपाली राजनीतिक दलहरू आफै सम्पन्न गर्न सक्षम छन् भन्ने सन्देश प्रवाह गर्न सफल भएको दाबी गरे । टीआरसी विधेयक कानून बने पश्चात् द्वन्द्वका सबै पीडितहरूले न्यायको अनुभूति गर्ने गर्ने देउवाले विश्वास व्यक्त गरे ।
सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउने विन्दुमा पुग्दै गर्दा अन्तर्राष्ट्रिय समुदायले नजिकबाट नियालिरहेको भन्दै सभापति देउवाले अन्तिममा विधेयकलाई अन्तर्राष्ट्रिय समुदाय र सरोकारवाला पक्षले पनि स्वागत गर्ने समेत बताए ।
शीर्ष दलहरूबिच सहमति भएर विधेयक अघि बढेसँगै एकअर्कालाई शङ्का वा आरोपित गर्ने भन्दा पनि बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको प्रभावकारी छनौट र प्रभावशाली कार्य प्रणाली प्रति सजग हुन आवश्यक रहेको देउवाले बताए ।