नेपालको शान्ति प्रक्रिया विश्वकै लागि अनुकरणीय : अध्यक्ष दाहाल
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालको शान्ति प्रक्रिया नेपाली मौलिकतामा हुर्किएको बताएका छन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा आफ्नो धारणा राख्दै दाहालले नेपालको शान्ति प्रक्रिया मौलिक रहेको बताएका हुन् । नेपालको शान्ति प्रक्रिया विश्वकै लागि अनुकरणीय रहेको उनले बताए । उनले भने, 'संसारभर चल्ने यस प्रकारका युद्धहरू कि त हारमा परिणत भएका छन् कि सम्पूर्ण रूपले जितमा तर, नेपालको शान्ति प्रक्रिया विश्वकै अनुपम शान्ति प्रक्रियाको रूपमा रहेको छ र हाम्रा अनुभव निकै मौलिक छन् । हाम्रै गृह, जलवायु, माटो, संस्कृति र परम्परा अनुकूल हुर्किएको शान्ति प्रक्रियाको रूपमा यो रहेको छ । अरू देशको नक्कल यसमा छैन ।'
शान्ति प्रक्रिया थालनीका मूलभूत दुई पक्ष सफल भएका पनि दाहालको भनाइ थियो । अध्यक्ष दाहालले भने, 'राजनीतिक रूपमा राजतन्त्रात्मक निरङ्कुश व्यवस्थाको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापना भएको छ भने संविधानसभाबाट नयाँ संविधान बनी नयाँ संविधानमा राजनीतिक उपलब्धिहरू संस्थागत पनि भएका छन् ।'
उनले नेपालको हतियार व्यवस्थापन र सेना समायोजन पनि सरल र सहज ढङ्गले भएको स्मरण गरे । सेना समायोजन र हतियार व्यवस्थापन जटिल विषय भएपनि नेपालमा आधुनिक हतियार व्यवस्थापन र ठूलो सङ्ख्याको सेना समायोजन जटिल रहेपनि सहजै सम्पन्न भएको बताए । दाहालले राजनीतिक नेतृत्वले जोखिम उठाएर सेना समायोजन गरिएको उनले बताए ।
सेना समायोजन गर्दा माओवादी पार्टी विभाजन भएर आफूलाई क्षति भएपनि देश बाचेको र शान्ति स्थापना भएको दाहालले बताए । संसद्मा ल्याइएको विधेयक पीडितका पक्षमा रहेको दाहालले बताए ।
उनले अन्तर्राष्ट्रिय समुदायमा पनि विधेयकमाथि सहमति रहेको बताए ।