संघीयता र गणतन्त्रका मूल्य, मान्यता विपरीत हुने गरी संविधान संशोधन हुन सक्दैन: प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयता र गणतन्त्रका मूल्य, मान्यता विपरीत संविधान संशोधन हुन नसक्ने स्पष्ट पारेका छन् ।
प्रतिनिधि सभाको आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्वस्थ प्रतिस्पर्धासहितको लोकतान्त्रिक प्रणाली आफूहरुले सङ्घर्ष गरेर  र रोजेर ल्याएकाले देश र जनताका हितलाई सर्वोपरि राखेर यस प्रणालीलाई स्थापित गर्न सरकार कटिबद्ध रहेको स्पष्ट गरे । 'यसबीचमा प्रतिगमनका लागि संविधान संशोधन हुँदैछ भनेर केही भ्रम फैलाउन खोजिएको छ । हामीले जेका लागि सङ्घर्ष गरेका छौँ  र शपथ लिएका छौँ । वाचा बन्धन गरेका छौँ । हामीले नै लोकतान्त्रिक प्रणाली मासेर जान सक्दैनौँ ', प्रधानमन्त्री ओलीले भने, 'तानाशाहीका पक्षमा हामी थियौँ भने राणा शासन र अधिनायकवादविरुद्ध लड्ने थिएनौँ । हाम्रो विश्वास लोकतन्त्रमाथि भएकाले नै लोकतन्त्रका लागि टाउको र गर्धन थापेर हामी लडेका आएका हौँ ।' 
संविधान संशोधनीय दस्ताबेज भएको भन्दै उनले लोकतन्त्रका मूल्य, मान्यतालाई अझ बढी सुदृढ र समयानुकूल गर्न तथा जनताका लागि सेवा र सुशासन प्रभावकारीरूपमा दिन सकिने गरी देश र जनताको आवश्यकताका आधारमा यसको संशोधन गर्न सकिने बताए । 'यो संविधानको अवयवका रूपमा रहेका संघीयता र गणतन्त्रका विषयमा प्रतिकूल हुने गरी संशोधन हुन सक्दैन । संशोधन गर्दा राजनीतिक र बौद्धिक छलफलका साथै सदनको दुई तिहाइ र सर्व स्वीकार्यताका पक्षलाई ध्यानमा राखेर संशोधन ल्याइनेछ', उनले भने ।
प्रधानमन्त्री ओलीले गन्तव्यविहीन आन्दोलन र समाज भड्काउने प्रयासबाट कहीँ नपुगिने स्पष्ट गर्दै यस व्यवस्था कार्यान्वयनका केही कमजोरीका विषयलाई अतिरञ्जना गरेर प्रणालीविरुद्ध जाने खालका अभिव्यक्ति उपयुक्त नभएको बताए । उनले यस मामिलामा सरकार सहज रहेको समेत जनाए ।
प्रधानमन्त्री ओलीले सदनमा सांसदहरूले अभिव्यक्ति दिँदा अरूले अनुसरण गर्न मिल्ने गरी दिनुपर्ने तर्फ पनि ध्यानाकर्षण गराए ।