अनेक प्रकारका शक्तिहरू राष्ट्रिय एकता भाँड्न लागेका छन्: प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अनेक प्रकारका शक्तिले राष्ट्रिय एकता भाँड्न खोजेको बताएका छन् । 

नेकपा एमालेको मुख्यालय च्यासलमा सोमबार आयोजित नेपाल खेलकुद महासंघ केन्द्रीय कमिटीको तेस्रो बैठकमा ओलीले सरकार, देश असफल पार्न खोज्नेहरू हुन सक्ने भन्दै त्यसविरुद्ध बोल्न आग्रह गरे । 'हामी राष्ट्रिय एकताको पक्षमा छौँ । अनेक प्रकारका शक्तिहरूले विभिन्न नाममा राष्ट्रिय एकता भाँड्न खोज्छन् । जनता–जनताकाबीचमा सङ्कीर्ण साम्प्रदायिक कुराहरू गर्न सक्छन्', ओलीले भने, 'र, धर्म, जात, भाषा, संस्कृतिका नाममा कहाँकहाँ भिन्नता भेटिन्छ, त्यसलाई दुरुपयोग गरेर पारस्परिक घृणाको विषय बनाउन सक्छन् ।'

उनले भिन्नतालाई कुरूप हुन दिन नहुने बताए । विविधतालाई दुरुपयोग हुन दिन नहुने ओलीको भनाइ छ । उनले भने, 'यसलाई दुरुपयोग हुन दिनुहुँदैन । राष्ट्र , जनताको मन विखण्डित दिनुहुँदैन ।'

उनले खेलाडीमा जातको प्रतिनिधित्व भन्दा पनि खेलको प्रतिनिधित्व हुनुपर्ने पनि बताए ।