शिक्षा कस्तो बनाउने भन्ने बहस हुन जरुरी छ : मन्त्री भट्टराई
नवलपुर । शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षा कस्तो बनाउने भन्ने बहस हुन जरुरी रहेको बताएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकाले सुरु गरेको ‘हाम्रो खुसी’ पाठ्यक्रमको शनिबार शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले राजनीति कस्तो बनाउने भनेर बहस हुने गरेपनि शिक्षाका बारेमा कमै मात्रमा बहस हुने गरेको बताए ।
‘हामीले लामो समयसम्म राजनीति कस्तो हुने भनेर सङ्घर्ष गर्यौँ, राजनीति कस्तो बनाउने भन्ने आन्दोलन गर्यौँ , बहस गर्यौँ, तर शिक्षा कस्तो बनाउने भन्ने बहस कम गर्यौँ', मन्त्री भट्टराईले भने, 'अब शिक्षा कस्तो बनाउने भन्ने बहस हुन जरुरी छ । शिक्षाले देशलाई कता लैजान्छ भन्ने बहस गर्न जरुरी छ ।'
कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले समाजको नेतृत्व शिक्षाले गर्ने र संस्कृति र राजनीति कस्तो हुन्छ भन्ने व्याख्या पनि शिक्षाले गर्ने बताए । 'राजनीतिले नीतिगत नेतृत्व गर्ने हो, तर समाजको नेतृत्व शिक्षाले गर्ने हो, समाजको नेतृत्व संस्कृतिले गर्ने हो, त्यो संस्कृति, राजनीति कस्तो हुन्छ भन्ने कुराको व्याख्या पनि शिक्षाले गर्ने हो’, मन्त्री भट्टराईले भने ।
मन्त्री भट्टराईले शिक्षाले देशलाई कता लैजान्छ भन्ने विषयको बहस मध्यविन्दु नगरपालिकाले सुरु गरेकोमा धन्यवाद दिए ।समाजमा विकास भएको नैराश्यता, समाजमा निर्माण भएको सामाजिक निराशालाई अन्त्य गर्न खुसी दिनुपर्छ, खुसी दिन सकियो भने मात्र समाजलाई परिवर्तनतर्फ उन्मुख गर्न सकिने मन्त्री भट्टराई बताए । यसका लागि ‘हाम्रो खुसी पाठ्यक्रम सुरु गरी सबैका लागि अनुकरणीय काम मध्यविन्दु नगरपालिकाले गरेको उनले बताए ।
शिक्षाको क्षेत्रमा नेपालमै पहिलो पटक नयाँ अभ्यास गर्न थालिएको मध्यविन्दु नगरपालिका नगर प्रमुख भिमलाल अधिकारीले बताए । बालबालिकाको सिकाइसँग जोडेर असल नागरिक उत्पादन गर्ने हेतुले नगरपालिकामा हाम्रो खुसी पाठ्यक्रम सुरु गरेको नगर प्रमुख अधिकारीले बताए ।
मध्यविन्दु नगरपालिकाले सुरु गरेको हाम्रो खुसी पाठ्यक्रम कक्षा एकदेखि आठ सम्मका बालबालिकालाई दैनिक रूपमा पढाइनेछ । पालिका भित्रका सबै सामुदायिक तथा संस्थागत गरी ६६ वटा विद्यालयमा हाम्रो खुसी पाठ्यक्रम पढाई हुने छ ।
बालबालिकाको कल्याण, उनीहरूको मानसिक स्वास्थ्य र समाजको दीर्घकालीन अवस्थालाई ध्यानमा राखेर पाठ्यक्रम सुरु गरिएको नगर प्रमुख अधिकारीले बताए ।