नवनियुक्त मुख्यसचिवलाई प्रधानमन्त्रीको सुझाव, सुशासन कायम गर्दै निजामती प्रशासनलाई चुस्त बनाउनुस्
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मुख्य सचिव एकनारायण अर्याललाई बधाई दिएका छन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत अर्याललाई बधाई दिँदै प्रधानमन्त्री ओलीले सुधारका लागि विभिन्न सुझावसमेत दिएका छन् । फेसबुकमार्फत ओलीले अर्याललाई मुख्य सचिवको रूपमा नियुक्त भएकोमा बधाई दिँदै, नागरिकलाई प्रभावकारी सेवा प्रदान गर्न र सुशासन कायम गर्न निजामती प्रशासनलाई चुस्त बनाउने आवश्यकतामा जोड दिएका छन् ।
प्रधानमन्त्री ओलीले सरकारको नीतिगत नेतृत्व प्रभावकारी कार्यान्वयनका लागि कर्मचारी प्रशासनको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै सरकारले आवधिक भूमिका निर्वाह गर्ने भए पनि निजामती प्रशासन नै स्थायी सरकार भएको औँल्याएका छन् । हरेक सरकारी निकायका अधिकारीहरूलाई आफ्नो कामप्रति जबाफदेही बनाउन तथा जनगुनासो तत्काल समाधान गर्न सार्वजनिक सुनुवाइको व्यवस्था गर्न सामाजिक सञ्जालमा पेज बनाउनु उपयुक्त हुने उनले सुझाव दिएका छन् ।
ओलीले विशेष गरी सवारी चालक अनुमति पत्र, अस्पताल सेवाहरू, नागरिकता र पासपोर्ट जस्ता सेवामा सेवाग्राहीहरूले लामो लाइन बस्न नपर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् । त्यसैगरी, विकास निर्माणका आयोजनाहरूमा हुने ढिलाइलाई तत्काल सम्बोधन गर्न सम्बन्धित अधिकारीहरूले सक्रिय भूमिका खेल्नुपर्नेमा पनि उनले बल दिएका छन् ।
प्रधानमन्त्री ओलीले करिब चार लाख राष्ट्र सेवक कर्मचारीको कार्यसम्पादनमा सुधार आएको खण्डमा नागरिकमा सन्तुष्टि आउने, कामहरू अघि बढ्ने र देश सफल हुने विश्वास व्यक्त गर्दै, मुख्य सचिव अर्याललाई सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।
'सबै कर्मचारी जागिरे मात्र होइनन्, नागरिकका सेवक हुन्,' प्रधानमन्त्री ओलीले भने, 'राष्ट्र सेवाका लागि सफलता मिलोस्, शुभकामना !'