पाँचथर विस्फोट घटनाप्रति सिजपको ध्यानाकर्षण
काठमाडौँ । पाँचथरको फालेलुङ गाउँपालिका–५ प्राङवुङको डाँडागाउँ टोलमा विस्फोटक पदार्थका कारण २ जना बालबालिकाको मृत्यु एवं २ जना घाइते भएको घटनाप्रति बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले गम्भीर ध्यानाकर्षण जनाएको छ ।
सिजपले विज्ञप्ति जारी गरी घाइते बालबालिकाको निःशुल्क उपचार र शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मृत्यु भएका बालबालिकाप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । बालबालिका खेलिरहेका बेला घरको 'लाछी'बाट गोलो देखिने वस्तु घर पछाडि बलेसीमा झरेपछि एक बालकले चलाउन खोज्दा विस्फोट भएको थियो । उक्त विस्फोटक पदार्थलाई सुरक्षा निकायले ‘होममेड ग्रिनेड’ भएको अनुमान गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, 'द्वन्द्वकालीन समयमा द्वन्द्वरत पक्षहरूले एक अर्कालाई लक्षित गरेर गाडिएको, मिल्काइएको वा बेवारिसे अवस्थामा छाडेर हिँडेका विस्फोटक पदार्थ तथा बस्तुहरू द्वन्द्वको समयमा भन्दा पनि द्वन्द्व पछिको समयमा झन् खतरनाक हुन्छन् । सशस्त्र द्वन्द्व सकिएर देशमा शान्ति पुनर्स्थापना भएको १८ पुगिसकेको अवस्थामा पनि द्वन्द्वको अवशेषहरू बाँकी रहनु दुःखद कुरा हो । त्यसरी फ्याँकिएका वस्तुहरूबाट हुने सम्भावित क्षति रोक्न Search, Trace and Dispose अभियान सञ्चालन गर्न अनुरोध गर्दछौ ।'
बालबालिकाको सुरक्षित तथा संरक्षित जीवन सुनिश्चितताको लागि नेपाल सरकार संवैधानिक, कानूनी, नीतिगत, संरचनागत तथा कार्यक्रमिक रूपमा प्रतिबद्ध रहेको भन्दै सिजपले बालबालिका सम्बन्धी ऐन २०७५ ले बालबालिकाको सुरक्षा तथा संरक्षणका लागि उचित उपाय अवलम्बन गर्न स्थानीय तहलाई प्रोत्साहन गरेको छ ।
'बालबालिकालाई भयरहित वातावरणमा खेल्न, हिँड्न र विद्यालयमा स्वतन्त्र रूपमा पठनपाठन गर्नका लागि बालबालिका र विद्यालय शान्ति क्षेत्र हुन् भन्ने मान्यतालाई आत्मसाथ गर्दै विभिन्न सरकारी निकाय, राजनीतिक दल, क्रियाशील राष्ट्रिय,अन्तर्राष्ट्रिय र स्थानीय नागरिक संघ संस्था, निजी क्षेत्र सम्बद्ध सबैमा बालबालिकाको संरक्षणलाई प्राथमिकतामा राख्न हार्दिक अनुरोध गर्दछौँ', विज्ञप्तिमा भनिएको छ', 'यस घटनाको सन्दर्भमा विशेष छानबिन गर्न र बालबालिकाको बाँच्न पाउने अधिकार, संरक्षित हुने अधिकार प्रति प्रतिबद्ध हुन साथै आगामी दिनहरूमा यस्ता घटना दोहोरिन नदिन सिजप सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछ ।'
