सागर पाण्डेको नेतृत्वमा टानको नयाँ नेतृत्व निर्वाचित

काठमाडौँ । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)को अध्यक्ष पदमा सागर पाण्डे विजयी भएका छन्  । पदयात्रा (ट्रेकिङ) व्यवसायीहरूको छाता संस्था टानको ४६औँ वार्षिक साधारणसभा तथा निर्वाचनमा उनले अध्यक्षका प्रत्याशी राजेन्द्रप्रसाद सापकोटालाई पराजित गरेका हुन् ।

गोरखा अस्राङका नवनिर्वाचित अध्यक्ष पाण्डे विगत तीन दशकदेखि नेपालको पर्वतीय पर्यटन व्यवसायमा आबद्ध छन् । उनी हिमालयन ग्लासियर ट्रेकिङ कम्पनीको संस्थापकसमेत हुन् । 

यसैगरी टानको वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा, प्रथम उपाध्यक्षमा विष्णुप्रसाद लम्साल, द्वितीय उपाध्यक्षमा सनम शेर्पा र महासचिवमा सोनाम ग्याल्जेन शेर्पा विजयी भएका छन् । यस्तै, सचिव पदमा रिञ्जीजाङबु शेर्पा, कोषाध्यक्षमा गौतमराज वाग्ले र सह-कोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा निर्वाचित भएका छन् । 

यस्तै महिला सदस्यमा पवित्रा तामाङ, सदस्यमा अम्बिरबहादुर गुरुङ, विनोदकुमार तामाङ, होमबहादुर विश्वकर्मा, फुर्पुछिरिङ ल्होमी (भोटे), विकास गुरुङ, सागर राई, छाप्ते लामा र राजु गुरुङ निर्वाचित भएा छन् ।

निर्वाचनमा विजयी भएसँगै नवनिर्वाचित अध्यक्ष पाण्डेले टानमा आबद्ध व्यवसायी र मजदुरका लागि 'टान बृहद् अक्षयकोष' निर्माण गर्ने बताएका छन् । उनले पर्यटन व्यवसायमा कायम भ्याट छुटका निम्ति विशेष पहल गर्ने, ट्रेकिङ कम्पनीमार्फत मात्र पदयात्रामा जाने बाध्यात्मक व्यवस्था मिलाइने, टिम्स व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राखिने, नियन्त्रित पदमार्गको परमिटमा सहजीकरण गर्ने, करसम्बन्धी समस्या समाधान गर्ने बताएका छन् ।