जलवायु अनुकूलित पूर्वाधार विकास अहिलेको आवश्यकता : खानेपानी मन्त्री
काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले जलवायु परिवर्तनका चुनौतीहरू र त्यससँग जुध्नका लागि जलवायु अनुकूलित पूर्वाधारहरूको विकासको आवश्यकता रहेको बताएका छन् ।
एसियाली विकास बैङ्क (एडिबी)द्वारा बुधबार आयोजित 'हिन्दुकुश हिमालयमा निर्माण गरिने संरचनाहरूलाई कसरी जलवायु अनुकूलन बनाउन सकिन्छ विषयक कार्यशाला'मा बोल्दै मन्त्री यादवले सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै मन्त्री यादवले जलवायु परिवर्तनका चुनौतीहरू र त्यससँग जुध्नका लागि जलवायु अनुकूलित पूर्वाधारहरूको विकासको आवश्यकता रहेको बताउँदै हिन्दुकुश हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण निम्तिने समस्याहरूलाई समेटेर एसियाली विकास बैङ्क (एडिबी) ले गरेको अध्ययनको महत्त्वपूर्ण योगदानको प्रशंसा गरे ।
'एडिबीले खानेपानी मन्त्रालयका लागि निरन्तर रूपमा अगाडि बढेर सहयोग गरिरहेको छ । मेलम्चीको मुहान वि.सं २०७८ सालमा बाढी पहिरोले क्षति भयो, एडिबीले उक्त क्षतिका बारेमा अगाडि बढेर सहयोग गर्ने प्रतिबद्धता जनाएको प्रति धन्यवाद दिन चाहन्छु', उनले भने ।
यसैगरी मन्त्री यादवले सन् २०२१ मा मेलम्चीमा आएको बाढी र थिङ्बो हिमताल फुटेर आएको बाढीका कारण खुम्बु क्षेत्रमा पुगेको विनाशलाई उद्धृत गर्दै जलवायु परिवर्तनका सम्भावित जोखिमहरूसँग जुध्न नयाँ दृष्टिकोणबाट विकास योजना निर्माण गर्न आवश्यक भएको बताए ।
मन्त्री यादवले जलवायु अनुकूलित पूर्वाधार विकासका लागि बहु–जोखिम मूल्याङ्कन,पूर्व सूचना प्रणाली,विपद् जोखिम न्यूनीकरणको लागि वित्त व्यवस्थापन र क्षेत्रीय सहयोगको महत्त्वलाई पनि जोड दिए । उनले एडिबीलाई नेपाल सरकारको भरपर्दो साझेदारको रूपमा सराहना गर्दै आगामी दिनमा साझेदारी अझ सुदृढ हुने विश्वास समेत व्यक्त गरे ।
कार्यशालाले नेपालमा जलवायु परिवर्तन अनुकूलन तथा जोखिम न्यूनीकरणमा आधारित पूर्वाधार विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । कार्यक्रममा भुटान सरकारका प्रतिनिधि गोविन्द शर्मा,नेपालका विभिन्न मन्त्रालय तथा विकास साझेदारका प्रमुखहरू,विज्ञहरू र प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।