कर्मचारीको अमेरिका भ्रमण रद्द गरिएकोप्रति माओवादी सांसद राईको आपत्ति

काठमाडौँ । बाराको जितपुर सिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेको अमेरिका भ्रमण अस्वीकृत गरिएकोप्रति प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले आपत्ति जनाएको छ ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सांसद दुर्गा राईले राजनीतिक प्रतिशोधका आधारमा अमेरिका भ्रमण अन्तिम समयमा आएर अस्वीकृत गरिएको टिप्पणी गरिन् ।

संघीय निजामती सेवा विधेयकमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई प्रश्न गरेकी हुन् । 'मैले एउटा समाचार पढेँ । एउटा कार्यक्रममा जान आँटेको पालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई अमेरिका जान लागेको अवस्थामा किन रोकिएको हो ?', सांसद राईले प्रश्न गरिन्, 'राजनीतिक आस्थाको आधारमा कर्मचारीमाथि यसरी डण्डा लगाउन मिल्छ ? यदि त्यस्तो हो भने कर्मचारी कसरी काम गर्न सक्छ ? यो विषयमा मन्त्रीसँग जवाफ चाहन्छु ।'