मानव बेचबिखनविरुद्धको अभियान सफल बनाउन सबै क्रियाशील भएर लाग्नुपर्छ: प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मानव बेचबिखनविरुद्धको १८औँ राष्ट्रिय दिवसका अवसरमा मानव बेचबिखनविरुद्धको अभियानलाई सफल बनाउन सबै क्रियाशील भएर अगाडि बढ्नुपर्ने बताएका छन् । 
दिवसका सन्दर्भमा प्रधानमन्त्री ओलीले आज शुभकामना सन्देश जारी गर्दै यस दिवसले सबैलाई थप प्रेरणा दिन सकोस् भन्ने कामना व्यक्त गरेका हुन् । 'तीनै तहका सरकारको प्रतिबद्धता: मानव बेचबिखनविरुद्ध सबैको ऐक्यबद्धता’ भन्ने नाराका साथ मनाउन लागिएको १८औँ राष्ट्रिय दिवसका अवसरमा उनले सबैमा शुभकामना व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले जारी गरेको सन्देशमा भनिएको छ, 'मानव बेचबिखन तथा ओसारपसार मानव सभ्यताको कलङ्क र जघन्य अपराध हो। समय क्रमसँगै मानव बेचबिखन तथा ओसारपसारको प्रकृति, स्वरूप र गन्तव्यमा निरन्तर परिवर्तन हुँदै गएको पाइएको छ । नेपालबाट कामको खोजीमा वैदेशिक रोजगारीका लागि सरकारले प्रतिबन्ध लगाएका मुलुकमा घरेलु कामदारका रूपमा जाने क्रममा अधिकांश महिला बेचबिखनमा पर्नुका साथै मनोरञ्जनात्मक क्षेत्रमा काम गर्ने किशोरी पनि मानव बेचबिखनका दृष्टिले बढी जोखिममा छन् ।'
प्रधानमन्त्री ओलीले बालबालिका र किशोरीहरूको बढ्दो बेचबिखन न्यूनीकरण गर्दै लैजान सरकारले विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै मानव बेचबिखन अन्त्य गर्न सरकारले सचेतनाका साथै निरपेक्ष गरिबीको रेखामुनि रहेका जनतालाई माथि उठाउँदै गरिबी निवारण गर्ने नीति लिएको उल्लेख गरेका छन् ।
'गरिबी, अशिक्षा, बेरोजगारी तथा विभिन्न किसिमका हिंसा, विभेद र समाजमा विद्यमान कुरीतिजन्य अभ्यासका कारण भइरहेका यस किसिमका आपराधिक कार्य पूर्ण रूपमा नियन्त्रण गर्न सरकार निरोधात्मक तथा उपचारात्मक उपाय अवलम्बन गर्दै जान प्रतिबद्ध छ', सन्देशमा भनिएको छ ।