राष्ट्रिय शिक्षा दिवसको मूल समारोहलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने
काठमाडौँ । नेपाल सरकारले मङ्गलवार राष्ट्रिय शिक्षा दिवस विविध कार्यक्रमको आयोजना गरी मनाउने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार 'ज्ञान, विज्ञान, सिप, उद्यम र मौलिकता: साझेदारी र प्रणालीगत सक्षमता' भन्ने नारासहित देशैभर साताब्यापी दिवस मनाउन लागिएको हो ।
शिक्षा दिवसको मूल समारोह प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा सैनिक जनसम्पर्क निर्देशनालय, भद्रकाली काठमाडौँको अडिटोरियम हलमा आयोजना हुने शिक्षा मन्त्रालय स्रोतले जनाएको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री माननीय विद्या भट्टराईको अध्यक्षतामा राष्ट्रिय शिक्षा दिवस मूल समारोह समिति गठन गरिएको छ ।दिवसलाई भव्य बनाउन राष्ट्रिय शिक्षा पुरस्कारसम्बन्धी उपसमिति, कार्यक्रम व्यवस्थापन उपसमिति,शैक्षिक स्मारिका प्रकाशन उपसमिति, सांस्कृतिक कार्यक्रम उपसमिति, प्रचार प्रसार उपसमिति, समाज कल्याण शिक्षा पुरस्कार उपसमिति गठन भएका छन् ।
राष्ट्रिय शिक्षा दिवस¸ २०८१ को अवसरमा उत्कृष्ट सार्वजनिक (सामुदायिक) तथा निजी लगानीका विद्यालय¸ प्राविधिक तथा व्यावसायिक तालिम परिषद्अन्तर्गतका प्राविधिक शिक्षालय, विश्वविद्यालयका उत्कृष्ट क्याम्पस र सामाजिक संघसंस्थाहरूलाई राष्ट्रिय स्तरमा पुरस्कृत गरिने कार्यक्रम रहेको छ ।
उत्कृष्ट विद्यालयतर्फ राष्ट्रिय शिक्षा पुरस्कारतर्फ २०८० सालको कक्षा १२ को नतिजा मूल्याङ्कनका आधारमा सार्वजनिक र निजी लगानीका विद्यालय तर्फ राष्ट्रिय स्तरमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालयलाई राष्ट्रिय सिल्ड, ध्वजा, क्रमशः तीन लाख रुपैयाँ, दुई लाख र एक लाख नगद पुरस्कार र प्रमाणपत्रसहित विद्यालयतर्फको राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गरिने मन्त्रालयले जनाएको छ ।
त्यस्तै प्राविधिक शिक्षालयतर्फ प्राविधिक शिक्षालयको गुणस्तर तथा क्रियाकलाप राम्रो भएका र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट सञ्चालन गरिएको परीक्षासमेतका आधारमा सर्वोत्कृष्ट नतिजा ल्याउने प्राविधिक शिक्षालयलाई परिषद्ले गरेको मूल्याङ्कन तथा सिफारिसको आधारमा विभिन्न चार वटा प्राविधिक शिक्षालयहरूलाई राष्ट्रिय ध्वजा र १ लाख रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र¸ उत्कृष्ट क्याम्पस राष्ट्रिय पुरस्कारतर्फ विश्वविद्यालय अन्तर्गत आङ्गिक¸ सम्बन्धन प्राप्त सामुदायिक र सम्बन्धन प्राप्त निजी क्याम्पस गरी तीन वटा क्याम्पसलाई दुई लाख पचास हजार नगद पुरस्कार र प्रमाणपत्र, उच्च शिक्षातर्फ नेपाल विद्याभूषण क २६४ जना, नेपाल विद्याभूषण ख ३५ जना, नेपाल विद्याभूषण ग २१ जना, नेपाल छात्रा विद्या पदक क १५ जनालाई प्रदान गरिनेछ ।
समाज कल्याण शिक्षा पुरस्कारतर्फ सडक बालबालिका, एचआइभी एड्स सङ्क्रमितका सन्तान, विपन्न, अनाथ, अशक्त तथा असहाय बालबालिकाहरूलाई पालनपोषणसहित शिक्षा प्रदान गरी उल्लेखनीय योगदान पुर्याएका संस्थाहरूमध्ये स्वीकृत मापदण्डको आधारमा छनौट भएका दुई वटा संस्थालाई नगद पुरस्कार दुई/दुई लाख रुपैयाँ नगद सहित प्रशंसा पत्र प्रदान गरिनेछ ।
यस्तै शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएबापत राष्ट्रिय शिक्षा दिवस¸ २०८१ को अवसरमा राष्ट्रिय शिक्षा पुरस्कार स्वरूप
विद्यालयतर्फ सामुदायिक विद्यालयका शिक्षक मध्येबाट ७७ जिल्लाका ७४ जना; निजी लगानीका शिक्षक, कर्मचारी र संस्थापक मध्येबाट ३२ जना; विद्यालय व्यवस्थापन समितिका पदाधिकारी विद्यालय कर्मचारी र बाल विकास शिक्षक मध्येबाट ३५ जना
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत प्राविधिक शिक्षालयका प्रशिक्षक र कर्मचारी मध्येबाट पाँच जना
विश्वविद्यालय अनुदान आयोगको सिफारिस बमोजिम विश्वविद्यालयतर्फका शिक्षक कर्मचारी मध्येबाट पच्चिस जना लाई सम्मान गर्ने कार्यक्रम तय भएको छ ।
कार्यक्रममा शैक्षिक स्मारिका २०८१ विमोचन हुनेछ भने विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम प्रदर्शन गर्ने, साथै शैक्षिक गतिविधि झल्कने विविध सामग्रीको प्रदर्शनी समेत गरिने जनाइएको छ ।
यस वर्षको राष्ट्रिय शिक्षा दिवसमा शिक्षालाई ज्ञानमा आधारित, विज्ञानमैत्री, सिप विकासमा केन्द्रित, उद्यमशीलता प्रवर्द्धन गर्ने र मौलिकतालाई जोगाउनेतर्फ उन्मुख गर्ने , शिक्षा प्रणालीले शिक्षालाई समयानुकूल बनाउने र २१औँ शताब्दीका चुनौतीहरूको सामना गर्न सक्षम नागरिक उत्पादन गर्ने लक्ष्य राखेको जनाइएको छ ।