विज्ञान र प्रविधिको अनुसन्धान र नवप्रवर्तनका लागि एक अर्बको विशेष कोष स्थापना गर्छौँ: शिक्षा मन्त्री भट्टराई
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा १२ औँ राष्ट्रिय विज्ञान दिवस मनाइएको छ ।
त्यस अवसरमा कार्यक्रमको उद्घाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले वर्तमान युग विज्ञान प्रविधिको युग भएकाले युगको महिमा कायम गर्न नेपालका समस्त वैज्ञानिकले आधुनिक प्रविधि र रैथाने प्रविधिलाई एकसाथ प्रवर्द्धन गरी राष्ट्रिय उत्पादन बढाउनु तथा विद्यार्थीलगायत सबैमा डिजिटल साक्षरता विकास गर्नु आवश्यक भएको बताए ।
उनले अनुसन्धानलाई उत्पादनसँग जोडी विज्ञान प्रविधिको माध्यमबाट दिगो पूर्वाधारको विकास गरेर विज्ञान प्रविधि तथा नवप्रवर्तनलाई समुदाय र समाजको अङ्ग बनाउन सके विज्ञान दिवस मनाउनुको सार्थकता पुष्टि हुने बताए । विज्ञान तथा प्रविधिको अनुसन्धान तथा नवप्रवर्तनका लागि विशेष कोषको स्थापना गरी सञ्चालन गर्न देशको बजेटको दुई प्रतिशत रकम छुट्टाउने नीति रहेको चर्चा गर्दै मन्त्री भट्टराईले वार्षिक पुँजीगत बजेटको एक प्रतिशत रकम अनुसन्धान र विकासका लागि छुट्टाएर एक अर्ब रुपैयाँको अनुसन्धान र विकास कोष स्थापना गरिने उल्लेख गरे ।
.jpg)
अब विश्वविद्यालय एवम् निजी तथा सरकारी अनुसन्धान संस्थामा भएका अनुसन्धानका उपलब्धिलाई व्यवसायीकरणका लागि सहजता प्रदान गर्न तथा उद्योग र पूर्वाधार क्षेत्रमा रहेका समस्याको समाधानका विषयमा अनुसन्धान गर्न एकेडेमिया-निजी क्षेत्रको इन्टरफेसको रूपमा कार्य गर्न अनुरोध गर्दै मन्त्रीले भट्टराईले उदीयमान प्रविधिका रूपमा विकास भइरहेका Satellite, Information Communication, Robotics, Artificial Intelligence, एवम् Nuclear Technology जस्ता प्रविधिको समेत उपयोग गरी देशको सेवा प्रवाह, उत्पादन र उत्पादकत्वमा गुणात्मक वृद्धि गर्ने दिशामा केन्द्रित रहनुपर्ने बताए ।
कार्यक्रममा युवा उद्यमी डा. प्रतिभा पाण्डे, शिक्षा सचिव डा. दीपक काफ्ले र विज्ञान सचिव विश्वबाबु पुडासैनीले मन्तव्य व्यक्त गरेका थिए । समारोहमा विज्ञान प्रविधिका क्षेत्रमा उल्लेख्य योगदान विभिन्न क्षेत्रका व्यक्तिलाई पुरस्कृत गरिएको थियो । कार्यक्रमको उद्घाटन रोबोटिक प्रविधियुक्त इलेक्ट्रोनिक एपबाट पानसमा दियो बालेर गरिएको थियो ।
विज्ञान तथा प्रविधिको महत्त्वलाई आत्मसात् गर्दै यस क्षेत्रमा भएका अध्ययन, अनुसन्धान र खोजमूलक विषयको प्रचार प्रसार गरी समुदायलाई सुसूचित गराउन र वैज्ञानिक तथा नव प्रतिभालाई प्रोत्साहन गर्न नेपाल सरकारले वि.सं. २०६९ सालदेखि राष्ट्रिय विज्ञान दिवस मनाउँदै आएको छ ।