बाढीले गर्यो रेकर्ड ब्रेक: काठमाडौँमा सबैभन्दा बढी क्षति (तस्बिर)
काठमाडौँ । अविरलको वर्षासँगै आएको बाढीका कारण काठमाडौँ उपत्यकामा रेकर्ड ब्रेक वर्षाले धनजनको ठूलो क्षति भएको छ ।
काठमाडौँ उपत्यकामा रहेको तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा गरेर ३४ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । ४८१ जनाको उद्धार गरिएको छ भने २१ जना हराइरहेका प्रहरीले जनाएको छ ।
बागमती, नख्खु लगायतका सबै नदीमा आएको बाढीले कोरिडोर सडक मात्र होइन, आसपासमा भएका संरचनामा समेत क्षति पुर्याएको छ । शुक्रबार र शनिबार काठमाडौँ उपत्यकामा यति धेरै वर्षा भयो कि केही वर्षा मापन केन्द्रमा रेकर्ड नै तोडिएको छ ।
सबैभन्दा बढी वर्षा ललितपुरको चापागाउँमा भएको छ । त्यहाँ २४ घण्टाको अवधिमा ३२३ मिलिमिटर वर्षा भएको छ । यसअघि २००२ मा २०० मिलिमिटर वर्षा भएको रेकर्ड छ ।
काठमाडौँको पानीपोखरीमा पनि ५३ वर्ष पुरानो रेकर्ड तोडिएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार पानीपोखरीमा सन् १९७१ मा १९८ मिलिमिटर वर्षा रेकर्ड भएको थियो, यसपटक २२५.२ मिलिमिटर वर्षा मापन भएको छ ।
यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नैकाप, नागार्जुन, चाँगुनारायण, बुढानीलकण्ठ, खोकना, जितपुरफेँदी र नङ्खेलमा पनि वर्षाको पुरानो रेकर्ड तोडिएको छ ।
बङ्गालको खाडीको उत्तरपट्टी न्यूनचापीय प्रणाली विकास भएको थियो । अर्थात् यो नेपालको नजिक थियो । यो प्रणाली उत्तरतिर हानिएको हुनाले यसले नेपालमा धेरै नै जलवाष्प ल्यायो । र, ठाउँ ठाउँमा भारीदेखि अति भारी वर्षा भएको थियो ।
कोशी प्रदेशको दक्षिण पूर्व (झापा)बाट वर्षा सुरु भएको थियो । त्यसपछि गण्डकीको दक्षिण, बागमतीको दक्षिण र लुम्बिनीका थोरै स्थानमा भारी वर्षा गरायो ।
बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको प्रभावले बागमती प्रदेशका जिल्लामा बढी क्षति पुर्याएको छ । क्षति बढी हुनुको प्रारम्भिक कारणमा बागमती प्रदेशमा यो प्रणाली केन्द्रित हुनुलाई मानिएको छ ।
हेर्नूहोस् तस्बिरहरू:
.png)

.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)