विपद् प्रभावित क्षेत्रबाट ७१३ जनाको हवाई उद्धार

काठमाडौँ । नेपाली सेनाले बाढी, पहिरो, डुबान लगायत प्राकृतिक विपद्मा परेका ७१३ जनाको हेलिकप्टरबाट सकुशल उद्धार गरेको छ । गृह मन्त्रालयको अनुरोधमा नेपाली सेनाले काभ्रेपलान्चोक, सिन्धुली, मकवानपुर, ललितपुर र काठमाडौँबाट गरी सोमबार बेलुकीसम्म ७१३ जनाको हेलिकप्टरबाट सकुशल उद्धार गरेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।
'बिपी राजमार्ग अवरुद्ध भएर काभ्रेपलान्चोकका विभिन्न स्थानमा अलपत्र परेका ५३२ जनाको त्यहाँबाट उद्धार गरी सुरक्षित स्थान सार्नुका साथै घाइतेहरूलाई अस्पतालसम्म पुर्‍याइएको छ', प्रवक्ता तिवारीले भने, 'निजी हेलिकप्टरबाट पनि प्रभावित क्षेत्रबाट उद्धार भएको छ ।'
गत शनिबारदेखि सोमबार बेलुकीसम्म हवाई उद्धारमा सेनाका तीन वटा हेलिकप्टर परिचालित थिए । 
'हवाई उद्धारको कार्य अन्तिम अन्तिम चरणमा पुगेको छ', प्रवक्ता तिवारीले भने– 'आवश्यकता अनुसार भोलीबाट पनि हवाई उद्धार हुन्छ ।'
सेनाको टोलीले उद्धारसँगै हवाई साधन मार्फत राहत सामाग्री समेत प्रभावित क्षेत्रमा पुर्‍याउँदै आएको छ । प्रभावित क्षेत्रमा स्वास्थ्य शिविरका साथै राहत वितरणको कार्य समेत गृह मन्त्रालय गरिरहेको छ । विपद्का घटनामा सुरक्षाकर्मीहरूले मुलुकभरका प्रभावित क्षेत्रबाट चार हजार भन्दा बढीको सकुशल उद्धार गरेको छ । 
सोमबार बेलुकीसम्म विपद्मा परी २०९ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयले दिएको जानकारी अनुसार विपद्का कारण अवरुद्ध राजमार्गहरू तीव्र रूपमा सुचारु भइरहेको छ । भने कतिपय बढी प्रभावित राजमार्गमामा वैकल्पिक सडक सञ्चालनमा तयारी पनि भइरहेको छ ।