बाढीपहिरो प्रभावितलाई तीन दिनभित्र अस्थायी आवासका लागि राहत दिइने

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले स्थानीय तहले लाभग्राही पहिचान गरेको तीन दिनभित्र अस्थायी आवासका लागि पहिलो किस्ता दिने निर्णय गरेको बताएका छन् ।

संघीय संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री लेखकले राहत वितरणको काम पनि छिटो गर्न निर्देशन भइसकेको बताए । 'स्थानीय तहले लाभग्राही पहिचान गरेको तीन दिनभित्र पहिलो किस्ता दिने निर्णय गरेका छौँ', लेखकले भने, 'स्थायी आवासको लागि सरकारले पछि छुट्टै पैसा दिन्छ ।'

उनले मृतकका परिवारलाई राहतस्वरूप दुई लाख दिने निर्णय गरेको पनि जानकारी दिए । 

गृहमन्त्री लेखकले बाढीपहिरोमा परी देशभर दुई १८ जनाको मृत्यु, २७ बेपत्ता र एक सय ४३ जना घाइते भएका जानकारी दिँदै विपद्पछिको प्रतिकार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको स्पष्ट पारे ।

विपद्मा परेका नागरिकको खोज तथा उद्धार र राहतमा सरकार केन्द्रित भएको बताउँदै उनले घाइतेको निःशुल्क उपचार र पहिरोका कारण अवरुद्ध मुख्य राजमार्ग र सहायक राजमार्ग खोलेर आवागमन सहज बनाउनेतर्फ सरकार केन्द्रित भएको जानकारी दिए । 

'खोज तथा उद्धार जारी छ । राहत सामग्री वितरणको कार्य पनि जारी छ । सरकारी अस्पतालमा घाइतेको निःशुल्क उपचार भइरहेको छ । राहत सामग्री परिचालन र पुनः स्थापनालाई प्रभावकारी बनाउन जिल्ला विपद् व्यवस्थापन समिति सक्रियतापूर्वक लागेका छन्', उनले भने । 

नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरी बल नेपाल र स्वयंसेवकले विपद्मा फसेका चार हजार २२ जनाको उद्धार गरेको बताउँदै उनले पचास वर्षपछि भारी वर्षा भएको जानकारी दिँदै दिए ।

काठमाडौँ उपत्यका र बागमती प्रदेश बढी प्रभावित भएको भन्दै उद्धारमा नेपाली सेनाका तीन हजार नौ सय ६, नेपाल प्रहरीका १४ हजार आठ सय २ सशस्त्र प्रहरीका १२ हजार २३ जनशक्ति विपद्पछि खोज र उद्धारमा खटिएका जानकारी दिए ।