अझैपनि १३ राजमार्ग पूर्ण रूपमा बन्द, सूचना लिएर मात्र यात्रा गर्न आग्रह
काठमाडौँ । अविरल वर्षापछि आएको बाढी–पहिरोका कारण अवरुद्ध भएका १३ वटा राजमार्ग अझै सञ्चालनमा आउन सकेका छैनन् । बुधवार बिहानसम्म अझै १३ स्थानमा सडक पूर्णरूपमा अवरुद्ध रहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताले जानकारी दिए ।
काठमाडौँको दक्षिणकाली नगरपालिका ८ मा पहिरा जाँदा सिस्नेरी सडक खण्ड पूर्णरूपमा अवरुद्ध छ । असोज ११ गते गएको पहिरो हटाउने कार्य भइरहे पनि सडक सञ्चालनमा आउन सकेको छैन । यस्तै ललितपुरको गोदावरी नगरपालिका ६ मा पनि पहिरोले सडक बन्द भएको छ ।
लेले–टीकाभैरव जाने सडक सञ्चालनमा आउन नसकेको प्रहरीले जानकारी दिएको छ । उता धनकुटाको चौबिसे गाउँपालिका १ सौर्यमा पहिरो जाँदा राँके भेडेटार सडकमा अवरोध पुगेको छ । मकवानपुरमा पनि ३ ठाउँमा पहिरोले सडकमा क्षति पुगेको छ । जुन अझै सञ्चालनमा आउन सकेको छैन ।
इन्द्रसरोवर गाउँपालिका १ मा पहिरोले कुलेखानी मार्खु सडक, इन्द्रसरोवर गाउँपालिका २ मा भीमफेदी कुलेखानी फाखेल सडक र इन्द्रसरोवर गाउँपालिका ३ रामचन्द्र भञ्ज्याङमा पहिरो जाँदा सिस्नेरी दक्षिणकाली सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
काभ्रेपलान्चोक र सिन्धुलीमा पहिरोले ४ ठाउँमा बिपी राजमार्ग अवरुद्ध भएको छ । रोशी गाउँपालिका ८ चारसय बेसी, रोशी गाउँपालिका ११ कालढुंगा र रोशी गाउँपालिका १२ प्याकुरेमा बाढी पहिरोले बिपी राजमार्गमा क्षति पुर्याएको छ । यस्तै सिन्धुलीको सुनकोसी गाउँपालिका १ मा पनि पहिरोली बिपी राजमार्ग अवरुद्ध भएको छ ।
सिन्धुलीको फिक्कल गाउँपालिका २ सुम्नामबेसी गएको पहिरोले मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध गरेको छ । भोटेकोसी ३ को पहिरोले बाह्रबिसे–तातोपानी सडक र रामेछापको मन्थली ६ स्थित नदीको पुल बगाउँदा रामेछाप–खुर्कोट सडक पनि सञ्चालनमा आउन सकेको छैन ।
दसैँमा आवतजावत गर्ने यात्रुलाई व्यवसायीहरूले वैकल्पिक राजमार्गको प्रयोग गरेर गन्तव्यमा पुर्याउन थालेका छन् ।