यस्तो रहनेछ दसैँको तीन दिनसम्मको मौसम
काठमाडौँ । मौसम पूर्वअनुमान महाशाखाले दसैँका मुख्य तीनको मौसम सामान्य रहने पूर्वानुमान गरेको छ ।
फूलपातीदेखि टिकाको दिनसम्मको मौसमबारे पूर्वानुमान बुलेटिन जारी गर्दै बुधबार महाशाखाले बागमती र गण्डकी प्रदेशका केही ठाउँमा मेघ गर्जनसहिन पानी परे पनि अन्य ठाउँमा भने सामान्य रहने जनाएको छ । यो अवधिमा तापक्रम भने थोरै घट्ने जानाइएको छ ।
यस वर्ष अष्टमी र नवमी एकै दिन परेको छ । महाशाखाले जारी गरेको बुलेटिनमा भनिएको छ, 'यस वर्ष दशैको सप्तमी (२४ गते), अष्टमी र नवमी (२५ गते), र दशमी (२६ गते) का दिनहरूमा कोशी प्रदेश र मधेश प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधारणयता बदली रही कोशी प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरूमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चटयाङ्ङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहने तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने देखिन्छ । साथै उक्त दिनहरूमा अधिकांश स्थानहरूमा अधिकतम तथा न्यूनतम तापक्रम सरदर भन्दा थोरै घट्ने सम्भावना रहेको देखिन्छ ।'
महाशाखाले तीन दिनको पूर्वानुमान सार्वजनिक गर्दै जाने जानकारी दिँदै यसलाई ध्यान दिएर मात्रै हिँडडुल गर्न आग्रह गरेको छ ।