पाँच लाख बढी बाहिरिए काठमाडौँबाट
काठमाडौँ । घटनास्थापनदेखि आज बुधबार बिहान ६ बजेसम्म ५ लाखभन्दा बढी मान्छेले काठमाडौँ छाडेका छन् ।
बुधबार बिहान ६ बजेसम्मको तथ्यांकअनुसार ५ लाख ६ हजार ५२५ जनाले काठमाडौँ उपत्यका छाडेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथका डीएसपी रवीन कार्कीले बताए ।
यो सडक मात्रैबाट काठमाडौँ छाड्ने यात्रुहरूको विवरण हो । दसैँको अवसरमा घर फर्कने यात्रुहरूलाई लक्षित गरेर ट्राफिक प्रहरीले यात्रु सहायता कक्ष सञ्चालन समेत गरेको छ ।
टिकटमा हुने कालोबजारीदेखि नाका नाकामा ट्राफिक खटाएर भाडादर समेत अनुगमन गरिएको छ । बढी भाडा असुल्ने गाडीहरूलाई कारबाही समेत तीव्र पारिएको उनले बताए ।
मंगलबारसम्म मात्रै बढी भाडा लिएको आरोपमा ३१ जनालाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाइएको उनले बताए । यसका साथै हवाईमार्गबाट पनि यो पटक उत्तिकै यात्रुहरू काठमाडौँबाट बाहिरिएका छन् ।
मुख्यगरी पूर्वी नेपालको मुख्य राजमार्ग वीपी हाईवे बाढी पहिरोका कारण अवरुद्ध भएपछि हवाई मार्गबाट उपत्यका छाड्नेहरूको सङ्ख्या पनि उल्लेख्य छ ।