यस्तो रह्यो दसैँपछिको शेयर बजार

काठमाडौँ । दसैँको बिदापछि खुलेको शेयर बजारमा उत्साह देखिएको छ । यद्यपि कारोबार रकम भने निकै न्यून रह्यो ।

मंगलबार नेप्से परिसूचक ३१.४८ अंकले बढेर २६९९.६६ बिन्दुमा अडिएको छ तर, ३ अर्ब ६ करोड २३ लाख रुपैयाँ बराबरको कारोबार भयो । आजको बजारमा जानकी फाइनान्स र मिथिला लघुवित्त वित्तीय संस्थाको शेयरमा सकारात्मक सर्किट लाग्यो ।

जानकी फाइनान्सको शेयर प्रतिकित्ता ६७७.६० रुपैयाँ पुगेको छ भने मिथिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य प्रतिकित्ता १ हजार ७ सय ३८ रुपैयाँ पुगेको छ । आज उत्पादन तथा प्रशोधनबाहेक सबै समूह बढेको छ ।

३०७ कम्पनी सामेल भएको कारोबारमा गुडविल फाइनान्स अगाडि देखियो । गुडविलको आज १८ करोड ५ लाख बढीको शेयर कारोबार भएको छ । सबैभन्दा बढी पटक हिमालयन रिइन्सुरेन्सको शेयर १ हजार २ सय ७८ पटक कारोबार भयो । आज यसको शेयर मूल्य प्रतिकित्ता ८९६.१० रुपैयाँ रहेको छ ।