जनतासँग जोडिएको विकास मात्र दिगो हुन्छ : एमाले महासचिव पोखरेल
दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अर्थतन्त्रमा सकारात्मक सुधार आएको बताएका छन् ।
आज दाङको तुल्सिपुरमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले कांग्रेस-एमाले नेतृत्व सरकार गठन भएसँगै अर्थतन्त्रमा सुधार हुन थालेको बताएका हुन् ।
धेरै दलहरू हुँदा सरकार अस्थिर भएको उनको भनाई छ । उनले सरकारका लागि दुई दलको मात्रै विकल्प रहेको उल्लेख गरे ।
पछिल्लो समय पोखरेलले नेपाललाई दुई दलीय प्रणालीमा लैजानुपर्ने बताउँदै आएका छन् । हंग पार्लियामेन्ट नीतिको कार्यान्वयनमा चुनौती हुने गरेको उनको बुझाई छ ।
पोखरेलले विकासमा जनताको प्रत्यक्ष सहभागिता भएमात्रै दिगोपन आउने बताए । उनले योजनाको पहिचान र छनोट, कार्यान्वयन र प्रतिफल वितरणसम्म जनतालाई जोड्न सके विकास छिटो र दिगो हुने बताए ।
महासचिव पोखरेलले विकासमा राजनीतिक सहमति आवश्यक रहेको धारणा राखे । जनतालाई आशाको सन्देश प्रवाह गर्न कार्यकर्ताहरुलाई निर्देशन दिँदै उनले जनताले नयाँ कुरा अपेक्षा राख्नु स्वभाविक भएकाले सरकारले अघि सारेका नयाँ कुरा जनतामा पुर्याउन आग्रह गरे ।
उनले तीन तहकै सरकारबीच समन्वय र सहकार्यबाट जनताले विकासको प्रत्यक्ष अनुभूति गर्न सक्ने स्पष्ट पारे ।