नयाँ पुस्ताको राजनीति सिध्याउन लामिछानेलाई पक्राउ गरियो: रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको घटनालाई 'नयाँ पुस्ताको राजनीतिक अभ्यास'लाई सिध्याउनका लागि चालिएको परिपन्चका रूपमा लिएको प्रतिक्रिया दिएको छ ।
पार्टी सभापति पक्राउ परेपछि प्रतिक्रिया दिँदै पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले पार्टी सभापति पक्राउ परेको घटनालाई जोडेर जनतालाई अप्ठ्यारो पर्ने तथा अर्थतन्त्रलाई हानी नोक्सानी पुग्ने खालका कुनै गतिविधि नगर्ने स्पष्ट पारे । उनले भने, 'प्रहरी, अदालत र कानुनप्रति हाम्रो कुनै द्वेष छैन, सहज रूपमा प्रक्रिया स्वीकार गरेका छौँ, न्यायिक प्रक्रियालाई सघाउँछौँ, यस घटनालाई भद्र रूपमा राजनीतिक परिवर्तनको लडाइँ सुरुआतका रूपमा लिएका छौँ ।'
सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा उनीविरुद्ध अनुसन्धानका लागि पक्राउ गर्न कास्की जिल्ला अदालतले नेपाल प्रहरीलाई अनुमति दिएको थियो । सभापति लामिछानेलाई पक्राउ गर्न पुर्जी लिएर प्रहरी टोली पार्टी केन्द्रीय कार्यालय पुगेको थियो ।
सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।