सहकारी ठगी र संगठित अपराध मुद्दामा रवि लामिछाने पक्राउ
काठमाडौँ । सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा प्रहरीले पूर्व गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गरेको छ । प्रहरीको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेलाई शुक्रबार साँझ वनस्थलीबाट पक्राउ गरेको हो ।
कास्की जिल्ला अदालतका न्यायाधीश कृष्णजंग शाहको इजलासले शुक्रबार नै लामिछानेसहितका व्यक्तिलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको तथा संगठित अपराधसम्बन्धी मुद्दामा उनलाई पक्राउ गरी अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको हो ।
त्यसलगत्तै कास्की प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौँ जिल्ला प्रहरी परिसरलाई सम्बोधन गरी लामिछानेलाई पक्राउ गरी पठाइदिन अनुरोध गर्दै पत्र पठाएको थियो ।
लामिछानेलाई प्रहरीले कास्की प्रहरी कार्यालयमा पुर्याउने तयारी गरेको छ । कास्की प्रहरीले सूर्यदर्शन सहकारीको बचत अपचलनमा पूरक अनुसन्धान गरिरहेको छ । सहकारी संस्थाको बचत अपचलनसम्बन्धी संसदीय विशेष छानबिन समितिले तयार पारेको प्रतिवेदनमा सहकारी कानूनविपरित सहकारीबाट गोरखा मिडियामा आएको रकम खर्च गर्ने/गराउने प्रक्रियामा संलग्न रहेको ठहर गरेको छ ।
गोरखा मिडियाद्वारा सञ्चालित ग्यालेक्सी फोरके टेलिभिजनका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, अध्यक्ष जीबी राई र तत्कालीन सञ्चालक पूर्वडीआईजी छविलाल जोशी, सदस्य कुमार रम्तेललाई पनि कारबाही सिफारिस गरेको छ ।
प्रहरीले यसअघि नै जोशी र रम्तेललाई पक्राउ गरिसकेको छ भने राई फरार रहेका छन् ।