आ-आफ्नो पार्टी राम्रो बनाउन लागे अरूका बारेमा चिन्ता गर्नै पर्दैन: महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अरू पार्टीका नेता कार्यकर्तालाई एमालेको चिन्ता नगर्न सुझाव दिएका छन् । 

महासचिव पोखरेलले फरक पार्टीका नेता र कार्यकर्ताहरूले नेकपा(एमाले)को भविष्यका बारेमा चिन्ता गर्दै सामाजिक सञ्जालमा अनेकन् सुझाव दिइरहेको भन्दै सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत एमालेले गरेका निर्णयहरूको कटु आलोचना नगर्न भनेका छन् । उनले लेखेका छन्, 'राजनीति गर्नेहरूले आ-आफ्नो पार्टी राम्रो बनाउन लागे अरूका बारेमा चिन्ता गर्नै पर्दैन नि !' 

नेता पोखरेलले नेकपा(एमाले)लाई कस्तो बनाउने नेकपा(एमाले)जनलाई नै छोडिदिन आग्रह गर्दै जनता के चाहन्छन् ? र राष्ट्रको आवश्यकता के हो ? भन्ने नेकपा(एमाले)लाई राम्ररी थाह भएको बताएका छन् । 'त्यही भएर नै नेकपा(एमाले) आजको कुरामा मात्र नअल्झेर भविष्यको कुरामा केन्द्रित छ । बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटेको छ । कुन पार्टी कस्तो भन्ने कुराको परीक्षण त सामाजिक सञ्जालले होइन आवधिक निर्वाचनले गर्ने हो । त्यसका लागि नेकपा(एमाले) हरदम तयार छ', उनी थप्छन् । 

नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरुङले दान दिएको जग्गा लिएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना हुन नछाडेपछि पोखरेलले यस्तो लेखेका हुन् ।