निकै तनावपूर्ण खेलकाबीच भारतलाई हराउँदै नेपाल साफ वुमन्सको फाइनलमा

काठमाडौँ । साफ माहिला च्याम्पियनसिप-२०२४ अन्तर्गत तनावपूर्ण सेमिफाइनल खेलमा भारतलाई पराजित गर्दै नेपाल फाइनलमा पुगेको छ ।
काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार राति भएको खेलमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा पराजित गरेको हो । यसअघि निर्धारित समयमा दुवै टोलीले एक एक गोल गरेका थिए । नेपालका लागि शावित्रा भण्डारी र भारका लागि संगीता बास्फोरेले गरेकी थिइन् ।
पहिलो हाफ बराबरीमा टुङ्गिएको खेलमा दोस्रो हाफ सुरु हुने बित्तिकै दुवै टोली आक्रामक बनेका थिए । खेलको ५१औँ मिनेटमा नेपालकी रेखा पौडेलले रातो कार्ड पाइन् । दुई वटा पहिलो कार्ड पाएपछि उनी मैदानबाट बाहिरिएकी थिइन् । त्यस लगत्तै दर्शक नाराबाजीमा उत्रिए । दश खेलाडीमा सीमित भएको नेपाल पनि दबाबमा परेको थियो ।
तथापि, दुवै टोली आक्रामक खेलमा उत्रिए । खेलको ७१औँ मिनेटमा संगीता बास्फोरेले गोल गर्दै भारतलाई अग्रता दिलाइन् । भारतीय खेलाडी खुसीयाली मनाउन थाले । भारतका सबै खेलाडी मैदानमा फर्किन नपाउँदै नेपालले बल चलाएर जाली चुमायो । प्रीति राईले गोल गरेकी थिइन् । रेफ्रीले गोलको मान्यता नदिएपछि विवाद सुरु भयो । दर्शकले नाराबाजी गरे भने नेपाली खेलाडीले विरोध जनाए । झन्डै आधा घण्टा अवरुद्ध बन्यो ।
लामो छलफलपछि नेपाली खेलाडी खेल्न तयार भएका थिए । खेल पुरानै अवस्थाबाट सुरु भयो । खेल सुरु भएको दोस्रो मिनेटमै शावित्रा भण्डारीले गोल गरिन् । त्यसपछि दुवै टोलीले गोल गर्न नसकेपछि पेनाल्टी शुटआउटमा गएको हो ।