प्रधानमन्त्रीले दिए नेपाली टोलीको प्रशंसा गर्दै धन्यवाद
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबलको उपाधि जित्न नसके पनि नेपाली खेलाडीले उत्कृष्ट खेलेको भन्दै प्रशंसा गरेका छन् ।
बुधबार बेलुकी भएको फाइनल खेलमा बंगलादेशले नेपालविरुद्ध २–१ गोलले जितेपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालबाट अब अर्काे खेल जित्ने गरी मेहनत हुने विश्वास व्यक्त गर्दै नेपाली टोलीलाई धन्यवाद दिएका हुन् ।
बंगलादेशकी मोनिका चक्मा र ऋतु पोर्ना चक्माले गोल गर्दै जीत दिलाएका थिए । नेपालकी अमिशा कार्कीले गोल फर्काए पनि नेपालको हार टार्न सकिनन् । तिनै गोल दोस्रो हाफमा भएको हो ।
खेलको ५२औँ मिनेटमा मोनिका चक्माले गोल गर्दै बंगलादेशलाई अग्रतामा राखेकी थिइन् । कप्तान सविना खातुनले नेपाली रक्षकबाट भएको गल्तीको फाइदा उठाउँदै निकालेको बललाई नियन्त्रणमा लिँदै मोनिकाले गोल गरेकी थिइन् ।
तर, नेपालले चार मिनेटमै गोल फर्कायो । नेपालकी अमिशा कार्कीले गोल गर्दै नेपाललाई बराबरीमा फर्काएकी हुन् । प्रीति राईले निकालेको थ्रू बललाई नियन्त्रणमा लिँदै अमिशाले सहजै गोल गरिन् ।
यसअघि सन् २०२२ को संस्करणमा नेपाललाई बंगलादेशले ३–१ ले हराएको थियो । नेपाली महिला भलिबल टिमले हारेको यो १२औँ फाइनल हो । साफमा मात्रै नेपाल फाइनलमा पराजित भएको यो छैटौँपटक हो ।