पुनः उपविजेता बन्यो नेपाल, बंगलादेश लगातार दोस्रोपटक च्याम्पियन

काठमाडौँ । साफ महिला च्याम्पियनसिप-२०२४ को उपाधि बंगलादेशले जितेको छ । 
आज बेलुकी काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपाललाई २–१ ले पराजित गर्दै बंगलादेश साफ महिला च्याम्पियनसिप–२०२४ को विजेता बन्न सफल भएको हो ।बंगलादेशले यो लगातार दोस्रोपटक साफको उपाधि जितेको हो । बंगलादेशलाई जित दिलाउन मोनिका चक्मा र ऋतु पोर्ना चक्माले गोल गरिन् । नेपालकी अमिशा कार्कीले गोल फर्काए पनि नेपालको हार टार्न सकिनन् । तिनै गोल दोस्रो हाफमा भएको हो ।

खेलको ५२औँ मिनेटमा मोनिका चक्माले गोल गर्दै बंगलादेशलाई अग्रतामा राखेकी थिइन् । कप्तान सविना खातुनले नेपाली रक्षकबाट भएको गल्तीको फाइदा उठाउँदै निकालेको बललाई नियन्त्रणमा लिँदै मोनिकाले गोल गरेकी थिइन् ।

तर, नेपालले चार मिनेटमै गोल फर्कायो । नेपालकी अमिशा कार्कीले गोल गर्दै नेपाललाई बराबरीमा फर्काएकी हुन् । प्रीति राईले निकालेको थ्रू बललाई नियन्त्रणमा लिँदै अमिशाले सहजै गोल गरिन् ।

८१औँ मिनेटमा ऋतु पोर्ना चक्माले गोल गर्दै बंगलादेशलाई २–१ को अग्रतामा राखिन् । करिब २५ यार्ड परबाट ऋतुले उत्कृष्ट गोल गरेकी हुन् । यही गोल निर्णायक बन्दा बंगलादेश च्याम्पियन बनेको हो ।

यसअघि सन् २०२२ को संस्करणमा नेपाललाई बंगलादेशले ३–१ ले हराएको थियो । 

नेपाली महिला भलिबल टिमले हारेको यो १२औँ फाइनल हो । साफमा मात्रै नेपाल फाइनलमा पराजित भएको यो छैटौँपटक हो ।