राजविराज यातायातमा दुई करोड १४ लाख राजस्व संकलन
राजविराज । राजविराजस्थित यातायात व्यवस्था सेवा कार्यालयले आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा दुई करोड रुपैयाँ बढी राजस्व संकलन गरेको छ ।
सवारीसाधन कर, नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र जारीबाट आव २०८१/८२ को साउनदेखि असोजसम्ममा दुई करोड १४ लाख ६ हजार एक सय २० रुपैयाँ राजस्व संकलन भएको कार्यालय प्रमुख कामेश्वर रोहिताले बताए ।
सवारीसाधन करबाट एक करोड ३६ लाख पाँच हजार ५२५ रुपैयाँ, यातायात क्षेत्रको आम्दनीबाट ६५ हजार ९१० रुपैयाँ र सवारी दर्ता किताबापत २५ लाख ४३ हजार १८५ रुपैयाँ राजस्व संकलन भएको छ ।
सवारी चालक अनुमतिपत्र बापत ९१ लाख ९१ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ । विसं २०७९ साउन ३१ गते सेवा प्रारम्भ भएको उक्त कार्यालयबाट आव २०८०/८१ मा १३ करोड ८५ लाख ५८ हजार १५१ रुपैयाँ राजस्व संकलन भएको थियो भने २०७९/८० मा सात करोड ५६ लाख २५ हजार ४७५ रुपैयाँ संकलन भएको थियो । रासस