मोजाको बल खेलेर करिअर सुरु गरेकी साम्बा यसरी बनिन् दक्षिण एसियाकै चर्चित महिला फुटबल खेलाडी
लमजुङ । साबित्रा भण्डारी ‘साम्बा’ले नेपालको मात्र नभई दक्षिण एसियाकै चर्चित महिला फुटबल खेलाडीका रूपमा आफ्नो पहिचान बनाएकी छन् । गोल गर्ने उत्कृष्ट कला, 'सेलिब्रेसन' गर्ने शैली अनि 'हेयर स्टाइल'ले 'साम्बा' चर्चामा हुन्छिन् ।
हरेक खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आएकी साबित्रा सोमबार नेपाल र भारतबीचको सेमिफाइनलपछि अझै चर्चामा छिन् । साबित्रा लमजुङको साबिक सिम्पानी गाविस–७ हालको मर्स्याङ्दी गाउँपालिका–९ पामचोक गाउँमा हुर्किइन् । थमन भण्डारी र मुना भण्डारीका माइली छोरी हुन् साबित्रा । उनी २०५३ जेठ १५ गते मनाङको चामेमा जन्मिएकी थिइन् ।
थमन र मुना छोरीको प्रगति देखेर अहिले दंग छन् । मुना भन्छिन्, 'दुःख गरेर हुर्काएकी छोरी हुन्, केही गर्छिन् भन्ने त लाग्थ्यो। तर फुटबल खेलेरै यति प्रगति गर्छिन् भन्ने हामीले सोचेकै थिएनौँ ।'
साम्बालाई फुटबलप्रतिको लगाव स्कुल पढ्दादेखि नै थियो । उनकी आमा मुनाका अनुसार ९/१० वर्षकै उमेरदेखि साबित्रा साथीभाइ बटुलेर फुटबल खेल्न जान्थिन् । 'जति बेला पनि फुटबल मात्र खेल्ने, काम गर्न लगायो भने काम गरेजस्तो गर्ने, हाम्रो आँखा छलेरै फुटबल खेल्थिन्,' उनले भनिन् ।
.jpg)
घरको कामलाई भन्दा फुटबललाई बढी प्राथमिकता दिँदा आमाबुबाबाट गाली पनि खान्थिन् । 'आज गाली गर्यो, भोलि फेरि साथीभाइ बटुलेर फुटबल खेल्न गइहाल्थिन्,'
मुनाले त्यतिबेलाको अवस्था स्मरण गर्दै भनिन्, 'काम छोडेर खेल्न मात्र जाने भनेर हामी छोरीलाई सधैँ कराउँथ्यौँ, त्यति बेला सबैभन्दा ठूलो घरको काम हो भन्ने हामीलाई लाग्थ्यो । तर ऊ काम र पढाइभन्दा फुटबल खेल्न मात्र खोज्थिन् । कहिलेकाहीँ पिटाइ पनि खाइन् । त्यति बेला यस्तो राम्रो फुटबल खेलाडी हुन्छिन् भन्ने सोचिएन ।'
साबित्रालाई दुःखले हुर्काएकी आमा मुना सुनाउँछिन् । 'सानैदेखि हामीले साँझ बिहान घाँस काट्न लगाउँथ्यौँ, अरु धेरै काम त हुदैनथ्यो, त्यतिबेला केटीले गर्नेभन्दा केटाहरूले गर्ने काम बढी गर्न खोज्ने उनको बानी थियो,' उनले भनिन् ।
'१४/१५ वर्षको उमेरमा उसले गोरु जोत्न थालिन्, आली लगाउने, चाडपर्वमा गाउँमा अरूको खसिबोका मार हान्दै हिँड्थिन्,' छोरीको बाल्यकाल सुनाउँदै मुनाले अगाडि भनिन् ।
विद्यालय जाँदा साबित्रा मोजाको बल लुकाएर लैजान्थिन् । कहिलेकाहीँ बल हान्दै विद्यालयसम्म पुग्थिन् । त्यतिबेला फुटबल खेल्न तम्सिनेहरूमा केटीभन्दा केटा धेरै हुन्थे । 'ठुल्ठुला दाइहरूसँगै फुटबल खेलेर हुर्किएकी हुन् मेरी छोरी,' साबित्राकी बुबा थमनले भने ।
.jpg)
केटी मान्छे भएर केटाहरूसँग फुटबल खेलेको भनेर गाउँलेहरूले थमनलाई अनेक कुरा सुनाउँथे । 'तेरो छोरी बिग्रिई भनेर कुरा काट्ने गर्थे, तर अहिले उसैले गाउँ, जिल्ला र देशकै नाम राखेको छ, आज समय बदलियो, हिजो कुरा काट्ने उनै गाउँलेहरू प्रशंसा गर्दै हिँडेका छन्,' थमनले भने ।
थमनका अनुसार साबित्रा १० वर्षको उमेरदेखि नै छोटो छोटो कपाल बनाउने, कुर्ता सलवार लगाउन नखोज्ने, सर्ट पाइन्ट लगाउने गर्थिन् । 'काम पनि छोरी मान्छेले भन्दा छोरा मान्छेले गर्ने खालका बढी रुचाउँथिन्,' थमनले भने ।
साबित्राका बुबा थमन त्यतिबेला स्वास्थ्य कार्यालय मनाङमा कार्यालय सहयोगीका रूपमा जागिरे थिए । मनाङमा २०४४ सालमा जागिरे भएका थिए । विसं २०४६ मा उनी स्थायी भएर ३४ वर्ष सेवा गरेर मात्र थमन लमजुङ फर्किएका थिए ।
मनाङमै हुँदा साबित्राको जन्म भएको हो । उनी चामेस्थित लोकप्रिय माध्यमिक विद्यालयमा नर्सरीमा भर्ना भइन् । पछि पाँच वर्षको उमेर हुँदा आमा मुनासँगै लमजुङ फर्किइन् । बुबा थमन भने जागिरका सिलसिलामा मनाङमै धेरै बसे ।
जागिरबाट आएको तलबले घर व्यवहार टार्न मुस्किल हुने थमन स्मरण गर्छन् । चार छोरी, दुई छोरालाई पढाउन हुर्काउन निकै समस्या थियो। तर अहिले हामीलाई साबित्राले हेरेकी छन् । अब हामीलाई पहिलाको जस्तो दुःख छैन,' थमनले भने ।
.jpg)
साबित्राले गाउँकै सरस्वती सदन आधारभूतमा नर्सरीदेखि कक्षा ७ सम्म पढेकी थिइन् । गणेश माविमा कक्षा ८ देखि ९ सम्म पढिन् । 'उक्त विद्यालयमा ९ कक्षा पढ्दै गर्दा खुदीस्थित अमर माविका शिक्षक श्यामबहादुर थापाले राम्रो फुटबल खेल्दोरहेछ, यस्तो खेलाडी हाम्रो विद्यालयमा पढ्नुपर्छ भन्दै आफ्नो विद्यालयमा भर्ना गरिदिनुभयो,' थमनले भने, 'फुटबलमा लगाव धेरै भए पनि साबित्राको पढाइ पनि राम्रै थियो ।'
साबित्रालाई आफ्नै गाउँ नजिकै रहेको खुदीस्थित मनास्लु युवा क्लबको टोलीमा सहभागी भएर फुटबल खेल्ने अवसर मिल्यो ।
उक्त क्लबमा आबद्ध भएर उनी क्व्होलासोथर गाउँपालिका–३ स्थित दक्षिण एसियाकै नमूना घलेगाउँमा आयोजना गरिएको फुटबल प्रतियोगितामा सहभागी भएकी थिइन् । महिला फुटबल प्रतियोगितामा उनी सहभागी भएको मनास्लु युवा क्लब प्रथम भयो । 'छोरीको खेल उत्कृष्ट देखेर त्यतिबेला रेफ्री शुक्र लामाले महिला फुटबल खेलाडीका रूपमा राष्ट्रिय स्तरसम्म पुग्ने अवसर दिनुभयो । काठमाडौँ जान्छु भनेर खबर गरिन् । म मनाङमै थिए । दुईचार दिन खेत रोपेर जाने सल्लाह दिएँ, म घर आएपछि काठमाडौँ पठाएँ,' थमनले भने ।
काठमाडौँ गएपछि साबित्राले सशस्त्र प्रहरी बलको एपिएफ क्लबमा जागिरे भए । साबित्रा जागिरे भएको कुरा उनका आमाबाबुले दुई वर्षपछि मात्र थाहा पाए । 'भर्ती भएपछि किन फुटबल नै खेलेको भनेर सोधेँ। फुटबल खेल्न पाइने भएकै कारण जागिर खाएको जवाफ दिइन्,' थमन भन्छन् ।
.jpg)
यसपालिको साफ च्याम्पियनसिपमा छोरी खेलेको सबै खेल हेरेको साबित्राका बाबुआमा बताउँछन् । खेल मोबाइलबाटै हेरेको उनीहरू बताउँछन् । साबित्राले कक्षा ६ देखि खेल्दै आएको मोजाको बल पनि अहिलेसम्म घरमा सुरक्षित छ । आफ्नी छोरीले सानोमा खेल्ने बल अहिलेसम्म सुरक्षित राखेको थमन र मुना बताउँछन् ।
त्यही मोजाको बल खेल्दै हिँड्ने साबित्राको अझै सम्झना छ छिमेकी मधुराम भण्डारीलाई। मधुराम साबित्रासँगै मोजाको बल फुटबल बनाएर खेल्थे । 'हामी पहिला सँगै बल खेल्थ्यौ, उसलाई बल टिप्न लगाउँथ्यौँ, निडर स्वभाव थियो । केही गर्लाजस्तो लाग्थ्यो । अहिले देशको नाम राखेकी छन् । खुसी लाग्छ,' मधुराम बताउँछन् ।
केटाहरू खेलिरहँदा साबित्रा एक्लै मिसिएर बल खेल्न जाने साबित्राको भाइ आशिष बताउँछन् । 'दिदी बल समाएर हिँडेपछि हामीहरू पनि पछिपछि लागेर जान्थ्यौँ। कहिलेकाहीँ हामीले खेल्न मन नलागेको बेलामा दिदीले कुटेर भए पनि खेल्न लगाउनुहुन्थ्यो,' आशिषले भने ।
जनक श्रेष्ठ/रासस