सरकार जनतामा देखिएको निराशा हटाउने काममा लागेको छ: उपमहासचिव ज्ञवाली

गुल्मी । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नागरिकमा देखिएको निराशा हटाउने काममा सरकार लागिपरेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले) रेसुङ्गा नगरपालिकाको दोस्रो नगर अधिवेशनलाई सदरमुकाम तम्घासमा सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले चार महिनाको अवधिमा सरकारले महत्त्वपूर्ण कामको थालनी गरेको उल्लेख गरे ।  

राजनीतिक अस्थिरता अन्त्य गर्न, ओरालो लागेका अर्थतन्त्रलाई माथि उकास्न तथा सुशासन कायम गर्ने प्रयासमा सरकार रहेको उनको भनाइ थियो । देशको राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षाका लागि सँगै लडेका दुई ठूला पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गरेको उपमहासचिव ज्ञवालीले बताए । 

पटक-पटक सरकार परिवर्तनको खेलले मुलुकमा अस्थिरता बढेको, लोकतन्त्रप्रति जनतामा निराशा पैदा हुँदै जान थालेको अवस्थामा मुलुकमा राजनीतिक स्थायित्वका लागि सरकारले काम गरिरहेको उनले बताए । 'एमालेले सत्तामा बस्दा होस् वा प्रतिपक्षमा, चुनाव जित्दा होस् वा हार्दा सधैँ जनताको पक्षमा काम गर्दै आएको छ', उपमहासचिव ज्ञवालीले भने । 

कानुनको नजरमा सबै बराबर भएकाले गल्ती गर्नेलाई सजाय हुने उनको भनाइ थियो । 

कार्यक्रममा एमाले सचिव गोकर्ण विष्टले वर्तमान समयमा एमालेलाई चारैतिरबाट घेराबन्दी गर्ने र बदनाम गर्ने प्रयत्न भइरहेको बताए । उनले सधैँ नकारात्मकता र निराशाले देश उँभो नलाग्ने उल्लेख गर्दै पुराना पार्टीमाथि प्रश्न उठाएर देशमा नयाँ पार्टीले भ्रम पैदा गर्ने काम गरेको आरोप लगाए । 

बलियो जनाधार र दूरदृष्टि भएका पार्टीलाई कमजोर बनाएर मुलुकमा अस्थिरता बढाउने प्रयत्न कदापि सम्भव नहुने सचिव विष्टको भनाइ थियो ।