ज्यान मार्ने उद्योगमा दोषी ठहर सांसद मनाङे पक्राउ, अदालत लगियो

काठमाडौँ । काठमाडौँबाट पक्राउ परेका गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङेलाई प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)बाट अदालततर्फ लगिएको छ ।

अदालतमा उपस्थित गराएपछि उनलाई कारागार चलान गर्ने तयारी छ । काठमाडौँ सानो भर्‍याङको कम्फर्ट हाउजिङबाट उनलाई सीआईबीको टोलीले आज बिहान पक्राउ गरेको थियो ।

मनाङेलाई सर्वोच्च अदालतले कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो । न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि तत्कालीन पुनरावेदन अदालत (हालको उच्च अदालत) पाटनले गरेको फैसलालाई सदर गर्दै २०६९ सालमा ५ वर्ष कैद सजाय सुनाएको थियो ।

सर्वोच्चले पनि दोषी ठहर गरेपछि मनाङेविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।