सवारी दुर्घटना न्यूनीकरण गर्न सडक सुरक्षामा ध्यान दिन गृहमन्त्री लेखकको निर्देशन
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सवारी दुर्घटना न्यूनीकरण गरी सडक सुरक्षा कायम गर्न सक्रियताका साथ खटिन प्रहरीलाई निर्देशन दिएका छन् ।
सवारी दुर्घटनाका घटना बढ्दै गएका बेला गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरलाई यात्रु वाहक सवारी साधनमा क्षमता भन्दा बढी यात्रु राख्न नदिन, मालवाहक सवारी साधनमा यात्रु बोक्न नदिन लगायत सवारी दुर्घटना न्यूनीकरणमा मुलुकभरमा प्रहरी युनिटलाई सक्रिय बनाउन निर्देशन दिएका हुन् ।
गृहमन्त्री लेखकले भने, 'सडक सुरक्षा कायम प्रहरी प्रमुख मार्फत मुलुकभरका प्रहरी युनिटलाई परिचालन गर्न निर्देश गरेको छु ।'
सवारी दुर्घटना न्यूनीकरणका लागि यातायात व्यवसायी, यातायात मजदुर र सरोकारवाला निकायले पनि सजगता अपनाउनुपर्ने उनले बताए ।