साइबर अपराध कसुरमा दुर्गा प्रसाईँ पक्राउ
प्रहरीले मंगलबार बिहान १० बजे अदालत खुले लगत्तै पक्राउ पुर्जी जारी गरेर मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई पक्राउ गरेको जनाएको छ । उनलाई थुनामा राखेर अनुसन्धान गर्न म्याद थपका लागि जिल्ला अदालत काठमाडौँ उपस्थित गराउने तयारी सिआइबीले गरेको छ ।
प्रसाईँले सोमबार (हिजो) प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध विभिन्न आरोप लगाएका थिए । प्रसाईँलाई साइबर अपराध कसुरमा पक्राउ गरेको सिआइबीका एसपी होबिन्द्र बोगटीले जानकारी दिए । अदालतबाट म्याद थपपछि अनुसन्धान गर्न भोटाहिटीस्थित साइबर ब्युरोलाई बुझाइने जनाएको छ ।
सोमबार प्रसाईँले प्रधानमन्त्री केपी शर्मा ओलीको २१ करोड डलर कम्बोडियामा लगानी रहेको प्रमाण भन्दै एक भिडियो सार्वजनिक गरेका थिए । सोही कसुरमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यसअघि पनि प्रसाईँ एक महिलाले आफ्नो चरित्रहत्या हुने खालको अभिव्यक्ति दिएको भन्दै उजुरी दिएपछि उनी पक्राउ परेका थिए । उक्त कसुरमा धरौटीमा छुटेका प्रसाईँ पुनः साइबर अपराधमा पक्राउ परेका हुन् ।