बालेनको पत्र प्राप्त भएको छैन, जरिवाना तिर्ने कुरा पनि हुँदैनः एमाले
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एक लाख जरिवाना तोकेको पत्र प्राप्त नभएको नेकपा एमालेले जनाएको छ । त्यो पत्र प्राप्त भए पनि जरिवाना नतिर्ने एमालेले जनाएको छ ।
मंसिर ७ गते काठमाडौँको दरबारमार्गमा सभा गर्दा फोहोर गरेको भन्दै महानगरपालिकाले एमालेलाई एक लाख जरिवाना तोकेको पत्र सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । एमाले केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले काठमाडौँ महानगरपालिकाबाट जरिवानाको पत्र प्राप्त नभएको बताए ।
'केन्द्रीय कार्यालयमा पत्र आएको छैन । पत्र पाए पनि जरिवाना तिर्ने कुरा हुँदैन', अधिकारीले भने, 'हामीले के गरेका छौँ र जरिवाना तिर्ने ? हामीले कार्यक्रम गर्यौँ, आफैँ सफा पनि गर्यौँ । त्यसैले पत्रको जवाफ दिइरहनु पर्दैन ।'
सभा सकिए लगत्तै आफैँ सफा गरेकाले महानगरपालिकाले सामाजिक सञ्जालमा जरिवानाको पत्र सार्वजनिक गर्नुमा गलत नियत देखिएको उनले बताए ।
मेयर बालेनले स्टन्टका लागि जरिवानाको पत्र नगर प्रहरी निरीक्षकलाई लेख्न लगाएको टिप्पणी गरेको छ । एमाले महासचिव शंकर पोखरेलले त मेयर बालेन एमालेविरुद्ध परिचालित भएको भनेर सामाजिक सञ्जालमा लेखेका छन् ।